काठमाडौं । सञ्चारकर्मी तथा गायक पवन भण्डारी आठ वर्षपछि डेउडा गीतमार्फत पुनः सांगीतिक यात्रामा फर्किएका छन्। उनले नयाँ डेउडा गीत ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सोमबार साँझ आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र जनजीवनलाई केन्द्रमा राखेर तयार गरिएको गीतले डेउडा संगीतप्रेमीको ध्यान तान्ने अपेक्षा गरिएको छ।
गीतमा पवन भण्डारी र शोभा थापाको स्वर रहेको छ भने लय पवन भण्डारीकै हो। गीतका शब्द लक्ष्मण बोगटी र पवन भण्डारीले संयुक्त रूपमा तयार पारेका हुन्। गीतको रेकर्डिङ अनामनगरस्थित विशेष डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने सङ्गीत संयोजन विजय थापा मगरले गरेका छन्।
सिके कम्युनिकेशन हाउसको निर्माणमा तयार भएको म्युजिक भिडियोमा कोपिला सिंह ठकुरी र जित बिसीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन सुरेन्द्र संगमले गरेका हुन् भने छायाङ्कन जहित बुढाले गरेका छन्।
गायक भण्डारीले ‘खोरो फुट्यो’ ले सुदूरपश्चिमको कला, संस्कृति र जीवनशैलीलाई उजागर गर्ने विश्वास व्यक्त गरेका छन्। लामो समयपछि डेउडा क्षेत्रमा फर्किन पाउँदा आफू उत्साहित रहेको बताउँदै उनले दर्शक तथा श्रोताको माया र साथको अपेक्षा गरेका छन्।
आठ वर्षको अन्तरालपछि सार्वजनिक भएको यस गीतले डेउडा संगीतमा पवन भण्डारीको पुनरागमनलाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।













Discussion about this post