सामाजिक कुरीति अन्त्य गर्न सहयोग गर्ने धामीहरुको प्रतिबद्धता 

55
SHARES
308
VIEWS

टेक बहादुर थापा । अछाम जिल्लाका धामी तथा पूजारीहरुले छाउपडी प्रथा र सामाजिक कुरीति अन्त्य गर्नमा आफुहरुको पूर्णरुपमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन । विगत देखीनै यस्ता कुरीति अन्त्य नहुनुको पछाडी प्रमुख दोस समुदायमा रहेका धामी, झाक्रि र पूजारीलाई लगाउने गरेको भन्दै उनीहरुले अब त्यो आरोप आफुहरुलाई मान्य नहुने बताएका हुन । विगतमा यो समस्या रहेको स्विकार्दैै उनीहरुले पछिल्लो समयमा शिक्षाको पहुच, प्रविधिको विकास संगै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु हुन थालेपछी धामी तथा पूजारीहरुपनि परिवर्तन भएको बताएका छन । मंगलबार वाक नेपाल द्धारा संचालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजनाले आयोजना गरेको धामी पूजारी तथा धार्मिक व्यक्तिहरु संगको सम्वाद कार्यक्रममा सहभागि धामी तथा पूजारीहरुले यस्ता गलत संस्कारलाई निरन्तरता दिनमा समुदायमा रहेका अन्य नागरिकको पनि भुमिका रहेको बताउदै सबै दोस आफुहरुलाई दिन नमिल्नेमा जोड दिएका छन ।

यसको जिम्मा समुदायमा रहेका सबै नागरिकहरुले लिनुपर्छ, अलि बढी जिम्मेवारी हामी धार्मिक व्यक्तिहरु लिउला, तर सबै दोस आफुहरुलाई मात्रै दिन नहुने अधिकांश धामी तथा पूजारीहरुको भनाई थियो । पछिल्लो समयमा समुदायमा बालविवाह पनि समस्याकै रुपमा रहेको बताउदै उनीहरुले यस्ता यस्ता गलत कार्यका विरुद्ध आफुहरुपनी आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । बालविवाहले स्वयम व्यक्तिमा त नकरात्मक प्रभाव पार्छ नै त्यसले सिंगो समुदाय प्रभावित हुने भएकाले किशोरीहरुलाई सुरक्षित राख्न विद्यालय स्तरमा सचेतनामुलक कर्याक्रम संचालन गर्न आवश्यक रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले धामी, पूजारी र धार्मिक व्यक्तिहरु समुदायका नागरिकले विश्वाश गर्ने अगुवा भएको बताउनुभएको छ । अहिले पनि गाउँघरका अधिकांश व्यक्तिहरुले उनीहरुका कुरा सुन्ने र विश्वाश गर्नेभएकाले धार्मिक व्यक्तिहरुले सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । केही धामीहरु समाज रुपान्तरणका क्षेत्रमा अग्रणी भूमिका खेलीरहेको भन्दै नगर प्रमुख बोहराले धामीहरुले झुटा बोल्न नहुनेमा जोडदिनुभएको छ । कतिपय धामीहरुका कारण आज देवीदेवताको बदनाम भईरहेकाले यस्ता कुराबाट सचेत हुन आग्रह गर्नुभएको छ । वाक नेपाल द्धारा संचालित सेफगल्र्स परियोजना मंगलसेन नगरपालिकामा पनि संचालन भएको बताउदै नगर प्रमुख बोहराले यो कार्यक्रमले समाज रुपान्तरणका क्षेत्रमा राम्रो गर्ने विश्वाश व्यक्त गर्नुभएको छ ।

सबैधामीहरुको तर्फबाट बोल्दै मंगलसेन नगरपालिका वडा न ४ का मष्टादेवताका धामी मोती कामीले आफ्नो घरमा महिनावारी भएका बेला आफ्ना छोरी बुहारीलाई घरमै राख्ने गरेको बताउनुभयो । आफु २०४८ साल देखी देवतालाई पूज्दै आएको भन्दै धामी कामीले घरमा भैसीपनी पालेको र महिनावारी भएका छोरी बुहारीले दहीदुधपनी खादै आएको जानकारी गराउनुभएको थियो । धामी तथा पूजारीहरु पनी सच्चिन आवश्यक रहेको भन्दै उहाले समाज रुपान्तरणको क्षेत्रमा हातेमालो गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । यो कार्यक्रम किशोरीहरुका लागि राम्रो रहेको बताउदै यसलाई थप प्रभावकारी बनाएर लैजान सुझाव दिनुभएको थियो ।

वाक नेपाल द्धारा संचालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजना अन्तर्गत आयोजना गरिएको लैंङ्गिक हिंसा अन्त्य र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सामुदायिक स्वामित्वका लागि धार्मिक तथा सामाजिक अगुवाहरु संगको सम्वाद कार्यक्रममा मंगलसेन नगरपालिकाका ७ वटा वडाका १९ जना धामी तथा पूजारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वाक नेपाल द्धारा संचालित सेफगल्र्स परियोजनाका प्रोगाम अफिसर गौरी भण्डारीले गर्नुभएको थियो भने सहजिकरण वाक नेपाल द्धारा संचालित सेफगल्र्स परियोजनाका कार्यक्रम संयोजक जिराजन चौधरीले गर्नुभएको थियो । बुधबार पनी ७ वटा वडाका धामी तथा पूजारी संग अन्तरक्रिया गरिने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार