निराजन भण्डारी । जिल्ला प्रशासन कार्यालय अछामले जोर–बिजोर प्रणाली अनुसार सेवा प्रदान गर्ने भएको छ । हरेक हप्ताको जोर बारको दिन जोर पालिका तथा बिजोर बारको दिन बिजोर पालिकाका नागरिकलाई सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
केही दिनदेखि नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी सहित राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्रहीको संख्या अत्याधिक बढेकाले जोर बिजोर बार सेवा प्रदान गरिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परिवारले जानकारी दिनुभएको छ ।
२०५८ साल भन्दा अगाडी जारी भएका नागरिकता तथा अभिलेख जलेर नष्ट भएकाले पनि नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी सहित राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्रहीको संख्या अत्याधिक बढेको सहायक प्रमुख जिल्ला अधिकारी परिवारले बताउनुभयो ।
जोर बारमा साँफेबगर नगरपालिका,मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका,बान्नीगढी जयगढ गाउँपालिका,र रामारोशन गाउँपालिकाका नागरिलाई सेवा प्रवाह गरिने व्यावस्था मिलाईएको छ । यस्तै बिजोर बारमा मंगलसेन नगरपालिका,कमलबजार नगरपालिका,पञ्चदेवल विनायक नगरपालिका,ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । बिहान ८ बजेदेखि बेलुका साढे ६ बजेसम्म सेवा प्रवाह हुने भएकाले कार्यतालिका अनुसार सेवा लिन आउन सेवाग्रहीलाई प्रशासन कार्यालय अछामले आग्रह पनि गरेको छ ।













Discussion about this post