अछाम पूर्ण खोप तथा दिगोपन सुनिश्चितता जिल्ला घोषणा

8
SHARES
42
VIEWS

टेक बहादुर थापा । अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सबै बालबालिकाहरूले खोप लगाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता,पूर्ण खाप सुनिश्चितता हाम्रो प्रतिबद्धता’भन्ने नाराका साथ शुक्रबार मङ्गलसेनमा एक बृहत कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

९१ वटै वडा र दश वटै स्थानीय तहका खोप लाउने उमेरका बालबालिकाहरूले सबै प्रकारका खोप लाएको प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएका हो । जन्मे देखि १५ महिना सम्मका ३ हजार ४ सय ८८ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चिततापछि जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झपटराज ढुंगानाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख तथा खोप समन्वय समिति अछामका अध्यक्ष ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जिल्लाका सबै बालबालिकाहरुलाई खोप लगाएको सुनिश्चित गर्न अब किशोर किशोरी लक्षित कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभयो । बृद्धबृद्धा भन्दा पनि हाम्रो लक्ष्यलाई सफल बनाउन विद्यालय स्तरका किशोर किशोरीहरुलाई सक्षम बनाउन आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई छ ।

पंञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बीका चलाउनेले यो महान अभियानमा रात दिन नभनी काम गर्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै यो अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल सरकारले कुनैपनी बालबालिकालाई खोप लगाउन बाट बञ्चित गराउन नहुने लक्ष्य राखेको हुदा यसलाई सफल पार्नु हामी सबैको दायीत्व रहेको बताउनुभयो । स्थानीय सरकारले स्वास्थ्यलाई पहिलो प्रथामिकता राखेर काम गर्नुपर्ने नगर प्रमुख चलाउनेको भनाई छ ।

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले स्थानीय सरकारले यस्ता अभियानलाई विशेष प्रथामिकता दिनुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी लगानी आवश्यक भएपनी स्थानीय सरकारले यसलाई आफ्नो प्रमुख प्रथामिकतामा नराखेको समन्वय प्रमुख कुवँरको भनाई छ । भौतिक संरचना मात्र नभई मानविय विकासमा लगानी गर्नुपर्ने सुझाव उहाले दिनुभएको छ ।

कार्यक्रममा साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँर,कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल,जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही,तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी,बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, उपाध्यक्ष बिन्दु रावल लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित जिल्लाको समग्र स्वास्थ्य अवस्थाको प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षय कुष्ठ रोग निरिक्षक दिपेन्द्र जोशीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार