टंक प्रसाद रिमाल जेठ २१ अछाम : मंगलसेन नगरपालिका वडा नम्बर १३, डाडिगडेमा भारतमा रोजगारी गर्दै आएका र देशमा यत्रतत्र छरिएका स्थानीय युवाहरूको पहल र आफ्नै आर्थिक लगानीमा करिब ३२ लाख रुपैयाँको लागतमा जाल्पा देवी भगवतीको भव्य मन्दिर निर्माण सम्पन्न भएको छ।
आज एक विशेष धार्मिक समारोहका बीच पूजा आजा तथा मूर्ति स्थापना गरिँदै मन्दिरलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । पूजारी, स्थानीयवासी, र जिल्ला स्थित जनप्रतिनिधि, सामाजिक एवम राजनैतिक नेताहरूको उपस्थितिमा विधिपूर्वक कलश यात्रा, रुद्रीपाठ सहित देवीको मूर्ति स्थापना गरिएको थियो।
भारतका विभिन्न सहरमा काम गरिरहेका डाडिगडेका युवाहरूले आफूले कमाएको पैसाबाट यो धार्मिक संरचना निर्माण गरेका हुन । “गाउँको धार्मिक र सांस्कृतिक पहिचान जोगाउन हामीले आफ्नै मेहनतको कमाइ मन्दिर निर्माणमा लगाएका हौँ,” निर्माणमा समर्पित समाजसेवी शिक्षक जय बहादुर बोगटी ले बताउनु भयो ।
स्थानीयवासीहरूले यस मन्दिरले गाउँमा धार्मिक पर्यटनको सम्भावना बढाउने, सामाजिक एकता मजबुत पार्ने र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन । पूजाआजा पछि प्रसाद वितरण र सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।
डाडिगडे बासिले मन्दिर निर्माणमा योगदान दिने सबै प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना समेत रहेकोले स्थानिय सरकारलाइ सहयोग गर्न आग्रह गरेका छन ।













Discussion about this post