टेक बहादुर थापा । जिल्ला अस्पताल अछाममा कार्यरत नर्सिङ कर्मचारीहरुले आफुहरुको दुख र पिडा सरोकारवालाले नसुनेको गुनासो गरेका छन । विभिन्न समस्याका बाबजुद पनि रातदिन नभनी नागरिकको सेवामा समर्पित नर्सिङ कर्मचारीहरुले सिमित स्रोत साधनको दायरा भित्र रहेर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन । अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीले राज्यले तोके अनुसारको सेवा सुविधा नपाएको, सिमित कर्मचारीले धेरै विरामी हेर्नुपरेको लगायतका गुनासो गरेका थिए ।
अन्र्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा कार्यरत नर्सिङ कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागि कर्मचारीहरुले ५० शैयाको अस्पतालका लागि ४० जना नर्सिङ कर्मचारीको आवश्यक्ता भएपनी १५ जनाले सेवा दिनुपर्दा गुणस्तरिय सेवा दिन नसकिएको बताएका छन । अस्पतालमा दैनिक जसो सेवाग्राही बढ्दै गएको तर जनशक्ति सिमित भएकाले यसले गुणस्तरिय स्वास्थ्य सेवा दिन चुनौती थपेको अस्पतालका सुचना अधिकारी तथा नर्सिङ प्रमुख गंगा बुढामगरले जानकारी दिनुभएको छ ।
पछिल्लो समयमा बयालपाटा अस्पतालले सेवा घटाउदै जानुले पनि सेवाग्राही जिल्ला अस्पतालमा बढ्दै गएकाले पहिलेकै जनशक्ति बाट सेवा दिन कठिनाई सृजना भएको नर्सिङ प्रमुख बुढामगरको भनाई छ । जिल्लाका सरोकारवालाहरु यस विषयमा समयमै गम्भिर नभए अस्पतालमा थप चुनौती थपिने उनीहरुको भनाई छ । नर्सिङ कर्मचारीहरु शारिरिक, मानसिक र आर्थिक रुपमा बलियो भए मात्रै गुणस्तरिय स्वास्थ्य सेवा दिन सम्भव हुने भन्दै यस तर्फ सरोकारवाला गम्भिर बन्न आग्रह गरेका छन ।
जिल्ला अस्पताल अछामका कार्यालय प्रमुख डाक्टर कमलेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर कृष्ण सोडारी, अस्पतालका सहायक प्रशासकीय अधिकृत झपट बहादुर थापा, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, नर्स मेनका शाह, अनमी जमुना बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।













Discussion about this post