टेक बहादुर थापा : ग्रामीण विकास केन्द्र रुडेक नेपालले गरेका कामहरु निकै प्रभावकारी भएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । संस्थाले आफ्नो कार्य क्षेत्रमा गरेका कामहरु गुणस्तर संगै दिगो बनाउने गतिविधि गरेको उनीहरुको भनाई छ ।
जिल्लाको मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिकामा गरेका कामहरु उदारणीय भएको भन्दै आगामी दिनमा सेवा क्षेत्रलाई विस्तार गर्नुपर्नेमा सुझाव समेत दिएका छन । रुडेक नेपालको २६ औ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने सरोकारवालाहरुले स्थानीय सरकारले गैरसरकारी संस्था संग समन्वय र सहकार्य गर्दै पालिका बाट निर्माण गरिने योजनाहरु थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष टंक प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय ससिति अछामका प्रमुख ललित बहादुर कुवँरले जिल्लाका कृयाशिल केही गैरसरकारी संस्थाहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । जिल्लामा १० वटा स्थानीय सरकार हुदा पनी नागरिकको मन जित्ने काम गर्न नसकेकाले यस्ता संस्थाहरुका राम्रा अभ्यासको सिको गर्न सुझाव दिनुभयो । स्थानीय सरकारले निर्माण गरेका योजनाहरु प्रभावकारी नभएकाले दिगो विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको आशन बाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले मंगलसेन नगरपालिका, हेल्भेटास नेपाल र रुडेक नेपालको साझेद्धारीमा मंगलसेनमा उदारणीय काम भएको बताउनुभयो । नगरपालिका संग बजेट भएपनी आवश्यक प्राविधिक ज्ञान र दक्षता नहुदा गर्नुपर्ने केही कामहरु विगतमा गर्न नसकेको र रुडेक नेपालको सहजिकरणमा नगरका ५ वटा वडामा ठूल ठुला खानेपानीका योजनाहरुको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । आफुले निर्वाचनको बेला जनता माझ गरेका बाचा पुरा गर्न यो संस्थाले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै यहाका स्थानीयलाई रोजगारी संगै चेतना समेत फैलाउने काम गरेको बताउनुभयो ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि पुर्व जिल्ला विकास समितिका सभापति कृष्ण प्रसाद जैशीले गैरसरकारी संस्थाले समाज रुपान्तरणका क्षेत्रमा निकै राम्रो भूमिका खेलेको बताउनुभयो । जिल्लामा स्थानीय सरकार नहुदा सरकारको भूमिका खेल्ने संस्थाहरुले अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानहरु सफल पार्न रचनात्मक काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । आफु जिल्ला विकास समितिको सभापति हुदा धेरै गैरसरकारी संस्थाहरु संग समन्वय गरेर जिल्लाको विकास निर्माण देखी सचेतना फैलाउने काम गरेको जैशीको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य द्धारीका प्रसाद उपाध्याय, रुडेक नेपालका संस्थापक अध्यक्ष झपट बहादुर रावल, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा, नेपाल बार यसोसियसन अछामका अध्यक्ष खड्ग बहादुर खड्का, गैसस महासंघ अछामका अध्यक्ष बल बहादुर केसी, हेल्भेटासका चन्द्रप्रकाश केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा संस्थाका कर्मचारी टंक बहादुर बोहराले संस्थाले हाल सम्म गरेका काम र उपलब्धीका बारेमा जानकारी गराउनु भएको थियो भने लेखा अधिकृत टंक प्रसाद भट्राईले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष सावित्री बटालाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन धनराज जोशीले गर्नुभएको थियो ।













Discussion about this post