अछाम। तत्कालिन विद्रोही नेकपा माओवादीले अछाम आक्रमण गरेको आज २३ वर्ष पुगेको छ । २०५८ साल फागुन ४ गते माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर एकैसाथ आक्रमण गरी ध्वस्त बनाएको थियो ।
ठूलो जनधनको क्षति भएको यस दिनलाई अछामीहरु इतिहाँसकै कालो दिनका रुपमा सम्झिन्छन्। आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए। पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो । क्याप्टेनसहित तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो।
क्याप्टेनसहित ५३ जना सेना मारिए । ५९ प्रहरी, निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगसेनमा एक सय २२ को ज्यान गएको थियो । माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरे । विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै राति मारिए । बिद्रोहीतर्फ भएको क्षतिको एकिन तथ्यांक छैन।
जुन आक्रमणलाई माओवादी सशस्त्र युद्धको सबैभन्दा ठूलो आक्रमण मानिन्छ । जसले गर्दा अछामको समग्र विकासमा धेरै ठूलो असर पुगेको घट्नाका प्रत्यक्षदर्सिसमेत रहेका नेपाली कांग्रेसका नेता नमबहादुर शाही।
मंगलसेनस्थित तत्कालिन जिल्ला प्रहरी कार्यालयको गेटमा अहिले पनि रहेको विद्युतको फलामे पोलले उक्त आक्रमणको सबैलाई झलझली याद दिलाउछ । आक्रमणबाट ऐतिहाँसिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भए। २३ वर्षअघिको त्यस रातलाई सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन्।
कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भए । भएभरका सरकारी संरचना नष्ट भए । भयावह मानवीय क्षति भयो । जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लगे। नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । अछाम पूरै तहसनहस भयो । पहुँच पुर्याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले आफ्नै पैसा पनि फिर्ता पाएनन्।
बन्दुकको नालबाट सत्ता कब्जा गर्न सकिन्छ भनेर नेकपा माओवादीले थालेको सशस्त्र युद्धको १० बर्षको अवधिमा १७ हजार बढीको ज्यान लग्यो। खर्बौको धनसम्पती नष्टभयो। अन्ततः शान्ति प्रक्रियामा आएर पटक पटक सत्तामा पुगे पनि अछाम र अछामीको आर्थिक, सामाजिक, सास्कृतिक अवस्थामा भने खासै परिवर्तन भएको छैन । जसको प्रमुख बाधक त्यहि सशस्त्र सशस्त्र युद्ध र अछाम आक्रमण नै थियो।
बजारमा रहेका सरकारी कार्यालयहरु उकालो चढेर पालेवन सामुदायीक वनको क्षेत्रमा बने। मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ। सबै संरचनाहरु पुनःनिर्माण गर्दा राज्यको अर्बौं रकम त्यसै खेर गएको छ। जिल्लाको सम्पत्ति लुटेर अन्यत्र गयो। हुने खानेहरु विस्थापित भए। जिल्लाभित्र कुनै लगानीको वातावरण पनि बनेन। जसका कारणले जिल्लाको समग्र उन्ननी प्रगति दशकौं पछाडि धकेलियो।
Discussion about this post