शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारका लागि अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकामा आज सम्पन्न भएको छ । समग्र शैक्षिक गुणस्तर कायम गर्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको स्रोतले जनाएको हो ।
कमलबजार नगरपालिकाका ४५ वटा विद्यालयका प्रधानाध्यापकहरू लगायत अन्य शिक्षकहरू अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए।
शिक्षाविद विद्यानाथ कोइराला, जनज्योति माविका प्रधानाध्यापक एवं पढ्दै कमाउँदै कार्यक्रमका प्रबन्धक सामाजिक अभियान्ता नारायण प्रसाद सिग्देल लगायतको टोलीले अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण दिनुभएको थियो।
यस्तै नगर प्रमुख यज्ञ प्रसाद ढकाले कार्यक्रमको समापन गर्दै नगरपालिका भरिका विद्यालय हरूमा शिक्षालाई गुणस्तरीय बनाउनका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने बताउनुभएको छ। यस्तै उहाँले प्रधानाध्यापकहरूलाई आधारित शिक्षामा समेत जोड दिन र सोको गृहकार्य नगरपालिकाले गरिरहने बताउनुभएको छ।
साथै उहाँले शिक्षकहरूलाई आफ्नो पेशामा क्रियाशील भएर शैक्षिक क्षेत्रमा ध्यान दिन समेत सुझाव दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो।यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदाकुमारी बिष्टले नगरका १० वटै वडाका विद्यालयहरूमा शैक्षिक सुधार गर्नका लागि नगरपालिकाले विशेष पहल गर्ने बताउदै दुई दिने अन्तरक्रिया कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभएको थियो।
यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ६ का वडाध्यक्ष लालबहादुर शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रत्येक विद्यालयका शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ। यस्तै उहाँले वडा नम्बर ६ का प्रत्येक विद्यालयमा सिसी क्यामेरा जडान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।
नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सल रहनुभएको थियो। यस्तै समापन कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट नगरका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना वडा नम्बर ६ का वडा अध्यक्ष लालबहादुर शाही कार्यपालिका सदस्य गोविन्द सुनार नगरका ४५ वटा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू सञ्चारकर्मी लगायत सहभागी भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाले गर्नुभएको थियो।
यसैबीच कमलबजार नगरपालिका वडा नम्बर २ मा रहेको शक्ति आधारभूत विद्यालयको भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिन सुदूरपश्चिम सरकारका मुख्य सचिव हरिप्रसाद लम्सालसँग नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा कुमारी बिष्टले आग्रह गर्नुभएको छ ।
Discussion about this post