काठमाडौं – देशभरबाट स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्ने पक्का भएको छ ।
कांग्रेस अघिअघि एमाले पछिपछि छ । माओवादी केन्द्र तेस्रो पार्टी बन्ने बाटोमा छ । तर, तिनै पार्टीका शीर्प नेताले आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन् ।
कांग्रेसले देशव्यापी चुनाव जित्दा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहवडा कांग्रेसले गुमाउन पुग्यो । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी) का नरेश भण्डारी निर्वाचित भए ।
भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरे । तर पालिका अध्यक्ष भने कांग्रेसले सानदार मतका साथ जित्यो ।
एमाले अध्यक्ष ओलीको मतदान गरेको वडा कांग्रेसले कब्जा गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेसका प्रदीप कार्की प्यानलसहित विजयी भए ।
उनले एक हजार ५११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका विश्वराज बिष्टले एक हजार ३०५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
सभामुख एवं माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गृह वडामा कांग्रेस विजयी भएका छन् । बलेफी गाउँपालिका–२ मा कांग्रेस र माओवादी केन्द्रको उम्मेद्वारको बराबरी मत आएपछि गोलाप्रथाद्वारा वडाध्यक्ष चुन्दा कांग्रेस विजयी भएका हुन् । बलेफी गाउँपालिका–२ मा सहमतिअनुरुप गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार छविलाल न्यौपाने चुनिएका हुन् ।
अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा केही मतले निर्वाचित न्यौपाने निर्वतमान वडाध्यक्षसमेत हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहवडामा कांग्रेसले पहिले पनि जित हात पारेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१४ यसपटक पनि कांग्रेसले जित्ने निश्चित छ ।
Discussion about this post