काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।
आफूले सुरुदेखि नै सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्ने भन्दै आएको भन्दै सभापति देउवाले सर्वोच्चले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको बताए ।
प्रतिनिधिसभा पुनस्थापनाको फैसलापछि ट्वीट गर्दै उनले सर्वोच्चले संवैधानिक दायित्व पूरा गरेको बताएका छन् ।
ट्वीटमा भनिएको छ, ‘संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ ।’
उनले प्रतिनिधिसभा पुनस्थापनाको निर्णयप्रति संवैधानिक इजसालका न्यायाधीशहरुलाई धन्यवाद दिएका छन् ।
सभापति देउवाको ट्वीट–
सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।
जय नेपाल ।
Discussion about this post