सामाजिक संजाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैका लागि बन्द गरिदिएको छ ।
ट्वीटर कम्पनीले ट्रम्पलाई ‘हिंसा बढाउने खतराका कारण’ भन्दै ट्वीटरबाट स्थायी रुपमा निलम्बन गरिएको जानकारी दिएको छ ।
ट्वीटरले ट्रम्पका पछिल्ला गतिविधिलाई समीक्षा गरेर निर्णय लिएको पनि जनाएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफू पराजित भएपछि ट्रम्पले हिंसा भड्काउने खालका अभिव्यक्ति दिँदै आएका थिए ।
उक्त कारण नै गत बुधबार राति अमेरिकी संसदमा उनका समर्थकले हतियारसहित आक्रमण गरेको आरोप लागेको छ । यसअघि ट्वीटरले ट्रम्पको खाता १२ घण्टाको लागि प्रतिबन्ध लगाएको थियो ।
त्यतिबेला ट्वीटरले फेरि कुनै गतिविधि गरे सधैका लागि बन्द गरिदिने चेतावनी दिएको थियो ।
अमेरिकी क्यापिटलमा आक्रान्त मानिसहरूलाई ट्रम्पले ‘देशभक्त’ भनी ट्वीट गरेका थिए । त्यस्तै संसदमा घेरा हालेको केही समयपछि ट्रम्पले, ‘हामी कहिले हार मान्दैनौं, हामी कहिले पनि स्वीकार्नेछैनौं’ भन्दै निर्वाचन परिणाम नमान्ने बताएका थिए ।
जो बाइडेनलाई अमेरिकी संसदले निर्वाचित घोषणा गरे पनि ट्रम्प भने आफूले हार स्वीकार गरेका छैनन् ।
Discussion about this post