प्रधानमन्त्री संकटकाल लगाउने तयारीमा छन् !

18
SHARES
100
VIEWS

काठमाडौं – प्रधानमन्त्री केपी ओली जसरी संविधान सभाले निर्माण गरेको ऐतिहासिक संविधानलाई उल्लंघन गर्दै जंगबहादुर शैलीले अघि बढेका छन्, त्यसलाई हेर्दा उनी मुलुकमा संकटकाल घोषणा गरेर निरंकुश तरिकाले अघि बढ्ने सम्भावना देख्छु ।

म चार दशक अघिदेखि सडकमा छु, सदन र सरकारको गतिविधि मिहिनरुपमा निगरानी गरिरहेको छु । ओलीलगायतका प्रधानमन्त्रीहरुको व्यवहार र प्रवृत्तिलाई ध्यान दिएर हेर्दा अधिकांशमा ‘म्यान इटर’को नसा चढेको देखिन्छ । केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चारै जना ‘म्यान इटर’ हुन् । जसरी मान्छेको रगतको स्वाद पाएको बाघले घरीघरी मान्छे नै मार्दछ, त्यसै गरी प्रधानमन्त्री बनेर ठूलो कमिसन र ठेक्कापट्टाको भाग खाएका उनीहरुलाई बारम्बार प्रधानमन्त्री नै हुनुपरेको छ । ओली अहिले सत्तामा छन्, उनी कुनै पनि हालतमा कुर्सी त्याग्न चाहँदैनन्, अरुलाई पुनः त्यो कुर्सी प्राप्त नगरी भएको छैन । त्यसैले संविधान, ऐन, सामाजिक प्रतिष्ठा, सिद्धान्त र मुलुकको हितभन्दा माथि कुर्सीलाई राख्ने र त्यसैमा टाँसिएर बस्ने काम ओलीबाट हुनेछ ।

प्रधानमन्त्री बनिरहनका लागि उनले संकटकाल लगाउनले विकल्प चयन गर्नेछन् । मुलुक र जनताको प्रतिष्ठा र प्रगतिको भने सत्यानाश हुनेछ । मैले तीन वर्षअघि सम्पन्न संसदीय निर्वाचनमा अब्जरभर भएर निगरानी गर्ने अवसर पाएको थिएँ । ७६ प्रतिशतभन्दा बढी जनताले मतदान गरे र कम्युनिस्ट पार्टीलाई दुई तिहाइको बहुमत दिलाए । मुलुकमा सधैं विदेशीको चलखेल र राजनीतिक अस्थिरताबाट वाक्क भएका जनताले स्थायित्व र विकास चाहेका थिए । तर जनता कम्युनिस्ट भएर मतदान गरेका थिएनन्, लोकतान्त्रिक अभ्यासमा आएका कारण कम्युनिस्ट पार्टीले शासन गरोस् भन्ने सदाशय मात्र राखेका थिए ।

लोकतान्त्रिक र संविधानसम्मत तरिकाले सरकार गठन भएको र प्रधानमन्त्री बनेका ओलीले ग्यास, पानीजहाज, रेल र भ्रष्टाचारमुक्त नेपालको सपना पनि देखाए । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भने, यसले पनि सबैलाई आशा जगायो । यद्यपि नेपालको परिवेश बुझेका मजस्ता व्यक्तिले ओलीप्रति आशंकाको दृष्टिले हेरेका थियौं, उनले सपना बाँडिरहेका छन्, असम्भव कुरा गरिरहेका छन् भन्ने लागेकै थियो । खास गरी जब एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनाए तब मैले त यो स्वार्थको गठजोर हो, धेरै टिक्दैन भनेकै थिएँ । नेपाली कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो भनेर चिन्ता प्रकट गरेको थिएँ । ओली हिम्मतका कुरा त गर्थे तर उनको शरीर त्यस अनुकूल थिएन । उनको एपेन्डिक्स फुट्यो, किड्नीले काम गरेन । तर पनि दुई तिहाइको सरकार भएकाले अस्थिरताको डर थिएन ।

तर, यसैबीच प्रचण्डले भारत गएर नयाँ रहस्य पर्दाफास गरे– ओली र मबीच आधा–आधा समय सरकार चलाउने गरी पार्टी एकीकरण भएको हो भने । दुई अध्यक्षको व्यवस्था हुनासाथ एकीकरण नाटक मात्र हो, टिक्दैन भन्ने त लागेकै थियो, नेपालमै पत्रकार सम्मेलन गरेर आधा–आधा समय सरकार चलाउने सहमति सार्वजनिक गरेको भए पनि हुन्थ्यो । प्रचण्डबाट यो गल्ती भएकै हो । यता, ओलीले देखाएका सपना एकपछि अर्को गर्दै तुहिरहेका थिए । भ्रष्टाचार भयंकर किसिमले बढिरहेको थियो ।

पहिला कहिल्यै पनि यस परिमाणको भ्रष्टाचार भएको थिएन । होला, पहिला पनि भ्रष्टाचार थियो तर एउटै छानामुनि बस्ने आफ्नै मन्त्री गोकुल बाँस्कोटाबाट भएको भ्रष्टाचारलाई संरक्षण गर्न उनले जसरी नांगो खेल खेले, त्यसले भ्रष्टाचारमुक्त नेपालको सपना एकैपटक चकनाचूर बनायो । पछि कोरोना महामारीका बेलामा पनि ओम्नी र औषधी–उपचार सामग्री खरिदमा भ्रष्टाचार भएको देखियो, त्यो अमानवीय र अत्यन्त निन्दनीय थियो ।

ओलीले राजनीतिक प्रतिष्ठा मात्र होइन, सामाजिक नैतिकता पनि कायम राख्न सकेनन्। निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र अपराधीलाई कारबाही गर्न नसकिएको घटना सानो होइन । कोरोना महामारीप्रति सरकारको बेवास्ताले पनि सरकारको सामाजिक र नैतिक जिम्मेवारीको स्खलन प्रमाणित भयो । विश्व नागरिकलाई बचाउन समर्पित भएर लागिरहँदा ओली सरकार पीपीईलगायत स्वास्थ्य सामग्री झिकाएर कसरी अधिक भ्रष्टाचार गर्ने भन्नेमा केन्द्रित रह्यो ।

अन्ततः यस्ता सामग्री झिकाउने जिम्मा नेपाली सेनालाई दिइयो, तर उसले भ्रष्टाचारको दलदल देखेर जिम्मेवारी लिन चाहेन । ओली सरकार नेपालको इतिहासमा देखिएका जंगबहादुर र चन्द्रशमशेरभन्दा पनि बलियो थियो, उनले मुलुकलाई साँच्चिकै भ्रष्टाचारमुक्त र विकसित राष्ट्र बनाउन सक्थे । छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध राखेर नेपालको प्रतिष्ठा बढाउन सक्थे । निर्वाचनका बेला भारत विरोधी कार्ड फ्याँकेर जनताको भोट बटुले, उसलाई मुक्का प्रहार गरेर देशभक्त हुन खोजे, आफ्नो भूमि नेपाली नक्सामा समावेश गर्नु राम्रो कुरा थियो, तर कालापानी क्षेत्रमा भारतले सडक बनाउँदै गरेको वर्षौंअघि थाहा पाएर पनि चुपचाप बसेको सत्य लुकाए, नेपाली जनतालाई ढाँटेर देशभक्त भएको नाटक गरे ।

तर भारतजस्तो पुरानो र खुला सीमा–सम्बन्धको मुलुकलाई ‘सिंहमेव जयते’ भनेर होच्याउने निकृष्ट काम गरे । वास्तवमा ‘सत्यमेव जयते’ बुद्धवाणी हो । छिमेकी भारतले यसलाई राष्ट्रिय नाराका रुपमा सम्मान दिएको हो । नेकपाको सरकारप्रति भारतीय कम्युनिस्टहरुले पनि मित्रतापूर्ण दृष्टिकोण राखेका थिए, जनस्तरको सम्बन्धमा भारतीय नागरिकले पनि नेपालप्रति सद्भाव बनाएका थिए, तर ‘सिंहमेव जयते’ले सबैको चित्त दुखायो । यस्तो तुच्छ बोली संसद्मा उभिएर बोल्ने १ निकृष्टताको हद हुन्छ नि १ परिणामस्वरुप भारतले यति चित्त दुखायो कि नेपालले जति प्रयास गरे पनि वार्ताका लागि वास्तै गरेन । कालापानी, लिम्पियाधुरा, लिपुलेकका बारेमा छलफल गर्ने मनस्थितिमै भारत देखिएको थियो तर ओलीको तृच्छ टिप्पणीकै कारण ऊ लामो समयसम्म पिठ फर्काएर बसिदियो । छिमेकी भारतलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा उसलाई चिढ्याएको नेकपाभित्रकै कतिपय व्यक्तिलाई मन परेको थिएन ।

ओलीका यस्ता अनेक कमजोरी र प्रचण्ड–नेपाललगायतका नेतालाई अवमूल्यन गर्ने शैली र आफ्नै ‘म्यान इटर’ प्रवृत्तिले पनि हुन सक्छ ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खाली कागजमा प्रचण्ड पक्षले सांसदहरुको हस्ताक्षर गराएको ओलीले थाहा पाए । उता ओलीले पनि प्रचण्ड, नेपाल र खनालको पालामा भएका भ्रष्टाचार पहिचान गरेर कारबाही चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तयार पारेको पनि प्रचण्ड पक्षले थाहा पायो । जनमुक्ति सेना सञ्चालनमा भएको भ्रष्टाचारको कुरा त बाबुराम भट्टराईले नै बाहिर ल्याइसकेका थिए । यी आदि पृष्ठभूमिका कारण नेकपा विभाजित भएको हो । यो विभाजन चिनियाँ पक्षका कारण केही महिना ढिला भयो ।

चिनियाँ राष्ट्रपति सि जिनफिङ आफ्नो दक्षिणी छिमेकी मुलुक नेपालमा कम्युनिस्ट पार्टीको सरकार बनेको, त्यही पनि दुई तिहाइको बहुमतमा, दंग थिए, ४० जनाको स्रोत व्यक्तिको समूह पठाएर नेकपाका नेता–कार्यकर्तालाई तालिम पनि दिलाए । तर, उनीहरुले नेकपाका नेता त्यागी नभएको र जनतालाई सम्मान गर्ने प्रवृत्तिका नरहेको पहिचान गरिसकेका थिए । कम्युनिस्टको सरकारलाई लोकप्रिय बनाउन उनीहरुले पाठ नपढाएका होइनन्, तर हाम्रा नेताहरुको बानी र प्रवृत्ति नै बिग्रिसकेको थियो, किन टेर्थे १ नेकपालाई फुट्न नदिन चिनियाँ पक्षले पछिल्लो जुन प्रयास ग¥यो, चार सदस्यीय उच्चस्तरीय टोली आयो, हरसम्भव प्रयास ग¥यो तर पराजित र लज्जित भएर फर्किनुप¥यो ।

यो चीनजस्तो सर्वत्र विजय हासिल गर्दै आएको मुलुकका लागि लज्जाको विषय बनेको छ । यतिखेर प्रचण्ड–नेपाल समूह हामीजस्तै सडकमा बसेको छ । हिजोसम्म साइरन बजाउँदै, आम नेपालीका सबारी रोक्दै हिँड्नेहरु आफ्नो स्वार्थका लागि कोरोना महामारीका बीच जनतालाई आन्दोलनमा होमिरहेका छन्, कोरोनाले मर्ने कि राजनीतिले भनेर दुई विकल्प दिइरहेका छन्, बिडम्वनाको विषय छ ।

अहिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा छ । मलाई लाग्छ, अदालतले जे फैसला गरे पनि ओलीले लुसक्क पद छोड्दैनन् । तर, कांग्रेसलगायतका दल सिट संख्या बढाउने लोभमा निर्वाचनतिरै लाग्नेछन्, सडकमा केवल प्रचण्ड र नेपाल मात्र रहनेछन् । तर, प्रचण्ड र नेपालबीच पनि लामो समय सहकार्य हुनेछैन– ‘म्यान इटर’को प्रवृत्तिले एक पदमा पुग्नासाथ अर्कोलाई औडाहा चलिहाल्नेछ ।

अवस्था यति धेरै बिग्रिन सक्छ कि, संविधान त ‘कू’ भई नै सक्यो, कुनै अवस्थामा चीन र भारतका सेना नेपालभित्र पस्ने, सुरक्षाको कारण देखाउँदै भारतले खुला सिमाना बन्द गरिदिने आदि दूरगामी असर पर्ने घातक अवस्था पनि सिर्जना हुन सक्छ । ओलीले संसदीय अभ्यास मान्दै अविश्वासको प्रस्ताव फेस गर्ने हिम्मत नराख्दा मुलुक अन्धकारतिर अघि बढ्यो । सुन्दरमणि दिक्षितसँग नेपाल समाचारपत्रले गरेको कुराकानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार