अछाम । अछाममा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले निरिक्षणका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा चेतनामुलक अभियानसँगै नौवटा छाउगोठ भत्काइएको छ ।
शनिबार सदरमुका मंगलसेनबाट गएको टोलीले दोश्रो चरणको पहिलो दिनमा पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काइएको हो ।
लयाँटीमा छाउगोठ भत्काउने अभियानपछि बारला पुगेको टोलीले वडामा रहेको छाउगोठ बस्ने र छाउगोठको बारेमा जानकारी लिएको छ । अनुगमनपछि वडा कार्यालय नजिक भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले छाउपडी लगायत सबै प्रकारका कुप्रथा अन्त्यमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अथिती रहेका प्रजिअ उपाध्यायले हरेक व्यक्ति जिम्मेवार भएमा गलत संस्कारको अन्त्य हुने भनाइ राख्नुभयो । समाजमा हिंसा, छाउगोठ बस्ने, अवैध मदिरा लगायत गलत काम भएमा आफुलाई सिधै फोन गर्न आग्रह गर्नुभयो ।
बारलामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेना, प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा, नापी अधिकृत धर्मराज ओझा, बारलाका वडा अध्यक्ष ताराप्रसाद.खनाल, नेकपाका नन्द शाही, नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव रामबहादुर शाहीले मन्तव्य राख्नुभएको थियो । बारलामा छाउगोठसँगै अन्य भौतिक निर्माणको समेत अनुगमन तथा निरिक्षण गरेर फर्केको छ ।
अनुगमन तथा निरीक्षणमा प्रमुुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेना, जनपद प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिश जोशी, नापी अधिकृत धर्मराज ओझा रहेको टोलीमा सहभागी पत्रकार शिवराज ढुंगानाले जानकारी जानकारी दिनुभयो ।
Discussion about this post