१ पुस, काठमाडौं । व्यापारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडाका व्यापारीलाई पैसा माग्ने २२ वर्षीय उत्तम रिमाललाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
रिमालसहित चार पाँच जनाको समूहले धम्की दिएर व्यापारीसँग ५० हजार मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए । नुवाकोट घर भएका उत्तमले आफुलाई ‘राजस्वको कर्मचारी’ भनेर जम्बुडाँडामा खाद्यान्न पसल चलाउने रामलखनप्रसाद शाह र जटा शंखर जैसवाललाई ‘खत्तम बनाइदिने’ धम्की दिएका थिए । पैसा नदिए ‘व्यापार खत्तम बनाउने’ भन्दै पटक–पटक फोन र मेसेज गर्न थालेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले रिमाललाई दिब्यश्वरी पार्टी प्यालेश नजिकैबाट पक्राउ गरेको हो । उत्तम र उनको समूहबारे बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Discussion about this post