काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । कुनै समय दैनिक ५ हजार ७ सयभन्दा बढी संक्रमितको संख्या पुगेको नेपालमा अहिले भने १ हजार आसपासमा थपिने गरेका छन् । विश्वभर कोरोना संक्रमित निको हुने दर ६९.५४ प्रतिशत पुग्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सार्वजनिक तथ्यांक अनुसार नेपालमा भने शुक्रबार निको हुने संक्रमितको दर ९४.४० प्रतिशत पुगेको छ । तर जनस्वास्थ्यविद्हरु भने मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा घटेजस्तै कोरोनाको संक्रमण दर नघटेको बताउँछन् । जनस्वास्थविद् डा. रबिन्द्र पाण्डेका अनुसार अहिले अस्पतालको जनरल बेड खाली भइरहदा आइसियु र भेन्टिलेटर भने प्याक छ ।
डा. पाण्डेको विचारमा सहमत छन्, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । पुनका अनुसार अहिले सर्वसाधरण परीक्षणमा रकम खर्च हुने र परीक्षण गर्दा कामकाजमा असर पर्छ भनेर नआउने, घरमा नै बस्ने भएकाले कोरोनाको संक्रमण दर घटेको देखिएको हो ।
हुुनत गत असोज २८ गते ६८.८ प्रतिशत, कात्तिक ९ मा ७०.६, कात्तिक १६ मा ७७.६ र कात्तिक २६ मा ८० प्रतिशतसम्म निको भएको संक्रमित दर शुक्रबार भने ९४.४० प्रतिशतमा आइपुगेको छ । यसैबीच सरकारले अहिले एन्टिजोन टेस्टबाट कोरोना परीक्षण गर्दै आएको छ । तर डा. पाण्डे सरकारले गर्दै आएको एन्टिजोन टेस्टमा १० प्रतिशत संक्रमण पुष्टि भएको भन्दै यो नतिजा पिसिआर भन्दा ठुलो भएको बताउँछन् ।
यता डा. पुनका अनुसार पछिल्लो समय कोरोना संक्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि घरमै बस्नेको संख्या बढेकाले संक्रमितको दर घटे नघटेको थाहा पाउन समुदायस्तरमा एन्डिबडी टेस्ट गरेर मात्र भन्न सकिने बताउँछन् ।
मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार नेपालमा १ हजार ४४ संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको छ । कुनैबेला ५÷६ हजार हाराहारीमा संक्रमित थपिने नेपालमा घटेको तथ्यांकमा ढुक्क भएर हिड्नु भन्दा अझै पनि कोरोनाको जोखिम कायमै छ भनेर यसबाट सचेत हुन आवश्यक छ । सगरमाथाटिभी बाट
Discussion about this post