तनहुँमा आज पनि झडप हुने संभावना, दुवै पक्षको आ-आफ्नै तयारी

53
SHARES
297
VIEWS

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई हिजो प्रहरीले गिरफ्तार गरेपछि शुरु भएको विवाद आज झन चर्किने देखिएको छ ।
तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले हिजो जबरजस्ती नियन्त्रणमा लिएपछि सर्वत्र विरोध भएको छ ।

प्रहरीले अवरोध गरेपछि हुन नपाएको हिजोको उद्घाटन कार्यक्रम आज गर्ने बरिष्ठ नेता पौडेल पक्षले तयारी गरेको छ ।
काँग्रेसको जिल्ला कार्यालय दमौलीमा भेला भएर विरोध जुलुश सहित उद्घाटनस्थलमा गएर कार्यक्रम गर्ने उनीहरुको तयारी छ ।

तर स्थानीय प्रशासनले भने कार्यक्रम हुन नदिने जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले घटनास्थलमा दुई समूहका बीचमा थप झडप हुने देखेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनु भयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “हिजो हामीले नियन्त्रणमा नलिएको भए, अझ नराम्रो घटना हुने संभावना थियो, हामीले अप्रिय घटना हुन नदिनका लागि भूमिका खेलेका हौँ ।”

उहाँले आफुहरु सरकारको आदेश पालक भएकाले सरकारको आदेश अनुसार नै कार्यक्रम नगर्न आग्रह गरेको, तर आयोजकहरुले अटेरी गरेपछि निषेधाज्ञा लगाइएको र निषेधाज्ञा तोडेकाले उहाँहरुलाई नियन्त्रणमा लिइएको स्पष्ट पार्नुभयो।

पौडेल पक्षले भने निषेधाज्ञा लगाउनुको औचित्य नभएकाले त्यसलाई नमान्ने र आफ्नो कार्यक्रम गर्ने जिकिर गरेको छ ।
काँग्रेस नेता प्रकाशमान सिंह स्थानीय विकास मन्त्री हुँदा २०७३ सालमा शुरु भएको पुल निर्माण कार्य २०७५ मा सकिएर संचालनमा आएको थियो । निर्माण काम सकिएको दुई बर्षपछि उद्घाटन गर्न लाग्दा तनावपूर्ण अवस्था सृजना भएको हो ।

नेता पौडेललाई पराजित गरेका नेकपाका सांसद किसान श्रेष्ठको चाहना र योजना अनुसार पौडेललाई उद्घाटन गर्न अवरोध गरिएको काँग्रेस नेताहरुले आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकटस्थ मानिनु हुने नेकपा सांसद श्रेष्ठ केही समय अघि जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्र यावदलाई नियन्त्रणमा लिएर पार्टी फुटाउन खोजेको घटनामा मुख्य पात्रका रुपमा विवादमा पर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार