काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।
हिजोको बैठकमा चर्काचर्की भएपछि उनी आजको बैठकमा उनी उपस्थित नहुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा पार्टीभित्रको विवादको निकास सचिवालय बैठकबाट नभएर बाहिरबाट अर्थात अनौपचारिक छलफल, संवादका माध्यमबाट टुंग्याएपछिमात्रै बैठक राख्नुपर्ने विचार व्यक्त गरेका थिए । उनको यो प्रस्तावमा महासचिव विष्णु पौडेलले मात्र समर्थन जनाएका थिए ।
अन्य सदस्यहरुले भने अध्यक्षद्वयका प्रस्तावमाथि छलफल गर्दै सचिवालयबाट समाधान खोज्नुपर्ने बताएका थिए ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि खनिएका ओलीले अन्तिममा पनि ‘मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन’ भन्दै बाहिरिएको एक सचिवालय सदस्यले बताए ।
उनले अनौपचारिक छलफलका लागि थप १० दिन सचिवालय बैठक रोक्न माग गरेका थिए ।
तर, अरू सदस्यहरूले त्यसमा कडा आपत्ति जनाएको सचिवालय सदस्य बताउँछन् । त्यसपछि ओलीले बैठकमा आउँदिन भनेर भनेको सचिवालयका नेताहरूले बताए ।
“बैठकलाई निरन्तरता दिने हो भने मेरो फुर्सद छैन,” ओलीले बैठकमा जवाफ दिएका थिए । आजको बैठकमा ओली अनुपस्थित हुने सम्भावना रहेको सचिवालयका नेताहरू बताउँछन् ।
Discussion about this post