बैतडी । बैतडीको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप ४ जना पक्राउ परेका छन् । सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित थप ४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।
यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ । सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।
तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनगढी खबरबाट
Discussion about this post