बिहान उठ्नेबित्तिकै हेर्नुहोस् आफ्नै हात, हुनेछ यस्तो लाभ

28
SHARES
153
VIEWS

हामीहरूमध्ये धेरैजसो व्यक्तिहरू राति अबेलासम्म बस्ने र बिहान पनि अबेरसम्म सुतिरहने गर्छौं । बिहान ढिलो उठे पनि हामीमध्ये कतिपयले आफ्नो बिस्तरामा नै चिया आइदिए हुन्थ्यो भन्ने चाहना पनि राख्छौँ र सुत्ने बेलासम्म होस् वा उठ्नेबित्तिकै हामीले सर्वप्रथम मोबाइलको दर्शन गरिरहन मन पराउँछौँ । वास्तवमा हामीले बिहान उठ्नेबित्तिकै पहिलोपटक के हेर्नुपर्छ ? भन्ने कुराको अझैसम्म ख्याल गर्न सकिरहेका छैनौँ ।

हाम्रा ऋषिमुनिहरूले हामीलाई बिहान उठ्नेबित्तिकै आफ्नै हात हेर्न र त्यसपछि पृथिवीको प्रार्थना गरेर पृथिवीलाई ढोग गरी आफ्नो दिनचर्या प्रारम्भ गर्ने निर्देशन दिएका थिए ।

जब मैले २०४० साल चैत्र महिनादेखि संस्कृत पढ्न थालेँ त्यतिबेलादेखि हालसम्म मैले बिहानै आफ्नो हात हेरेर पृथिवीलाई ढोग गरी पृथिवीमा पाइला टेक्ने अनुमति माग्दै आएको छु । मलाई शान्तभवन ललितपुरस्थित तत्कालीन महर्षि वेदविज्ञान विद्यापीठमा बिहानै आफ्ना हात हेर्नका लागि सिकाइएको मन्त्र यस्तो थियो :
कराग्रे वसते लक्ष्मी
करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा
प्रभाते करदर्शनम् ।।

भर्खर संस्कृत पढ्न थाल्दा मलाई दिइएको यो मन्त्रको अर्थ त्यतिबेला के हो ? भन्ने थाहा थिएन र सिकाउने गुरुले पनि यसको अर्थ भनिदिए जस्तो मलाई लाग्दैन । गुरुले दिएको मन्त्र गोप्य राख्नुपर्छ भनेर मैले मन्त्रलाई गोप्य राखी नियमित रूपमा बिहान उठ्नेबित्तिकै बिस्तरामा बसेर जप्तै जान थालेँ । पछि पछि बुझ्दै जाँदा त्यसको अर्थ पनि मलाई थाहा भयो । हातको अघिल्लो भागमा लक्ष्मी बस्छिन्, हातको बीच भागमा सरस्वती बस्छिन् र हातको मूल भागमा ब्रह्मा बस्छन्, त्यसैले बिहान हात हेर्नुपर्छ भन्ने त्यस मन्त्रको अर्थ रहेछ ।

प्रत्येक मान्छेलाई आफ्नो जीवनमा मूलभूत रूपमा धन, विद्या र दक्षता वा सृजनशीलता तीन चीजको आवश्यकता हुँदो रहेछ । लक्ष्मी, सरस्वती र ब्रह्मालाई आदर्श मानेर यी तीन चीज आर्जन गर्न प्रत्येक व्यक्ति आफै अग्रसर हुनुपर्छ भन्ने सिकाउनका लागि गुरुले आफ्ना प्रत्येक शिष्यलाई यो मन्त्र जप्न सिकाएका रहेछन् ।

जीवनमा पढ्नका लागि र दक्षता आर्जन गर्नका लागि सबैभन्दा पहिला धनको आवश्यकता पर्छ । बाल्यकालमा आफैले धन आर्जन गर्न नसक्ने भएकाले आमाबुबाले कमाएका धनले विद्या र दक्षता आर्जन गर्न अग्रसर हुनुपर्छ भने पछि गएर आफैले पनि धन आर्जन गर्दै जान सकिन्छ ।

प्रत्येक दिन बिहान आफ्ना हातहरू हेर्दा धन, विद्या र दक्षता आर्जन गर्न मेरा आफ्ना हातहरू नै सक्षम छन् भन्ने आत्मबल प्राप्त हुँदो रहेछ । पढेर सानोतिनो कुरा सिकियो भने त्यसको निरन्तर अभ्यास गर्दै जाँदा दक्षता पनि प्राप्त हुन सक्छ । ज्ञान र सीपको आर्जन गर्न सकेका खण्डमा त्यसकै आधारमा आफ्नो जीवन निर्वाहका लागि धनको आर्जन गर्न कुनै कठिनाइ हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार