अब प्रचण्डसँग सँगै हिँड्न नसकिने ओलीको निष्कर्ष

25
SHARES
137
VIEWS

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताउनुभएको छ ।

आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ । आज बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नभुएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताउनुभएको थियो ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतले बताएको छ ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गर्नुभएको थियो ।

वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको श्रोतले बताएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ताका लागि व्यपाक दबाब सृजना गर्न आफूनिकट नेताहरुलाई परिचालन गर्नुभएको छ ।

आफ्नो सचिवालयसहित आफूनिकट नेताहरुलाई ओलीले जसरी पनि प्रचण्डको प्रतिवदन फिर्ता गराउन निर्देशन दिनुभएको हो ।

यसक्रममा ओलीले आफूबाट टाढिएका उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रचण्डको प्रस्ताव फिर्ता गराउनका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

तर गौतमले पहिलो तपाईँ सुध्रिनुस् भनेपछि प्रधानमन्त्री ओली थप तनावमा आएको बालुवाटार श्रोतले बताएको छ । उपाध्यक्ष गौतमका प्रेस सहयोग विश्वमणि सुवेदीले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता गराउन भूमिका खेलिदिनुस् भनेर प्रधानमन्त्रीले गरेको आग्रहमा गौतमले पहिले तपाईँ सुध्रिनुस् भनेर जवाफ दिनुभएको बताउनुभयो ।

सुवेदीका अनुसार आज बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रथम उपप्रधानमन्त्रीसहित रोजेरै मन्त्रालय लिनुस् तर विवाद समाधानका लागि आफूलाई साथ दिनुस् भनेर आग्रह गर्नुभएको थियो ।

ओलीको उक्त प्रस्ताव पार्टी कमिटिमार्फत आए स्वीकार्न आफू तयार रहेको जवाफ गौतमले दिनुभएको सुवेदीले बताउनुभयो । उहाँले बालुवाटारबाट गौतमलाई मन्त्रीको प्रस्ताव ६ महिनाअघिदेखि नै आइरहेको पनि खुलासा गर्नुभयो ।

प्रचण्डले नेकपाको सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले भने अभियोगपत्रको संज्ञा दिएका छन् । उनीहरुले प्रचण्डले पेश गरेको दस्तावेजलाई प्रतिवेदन भन्न नमिल्ने तर्क गरेका हुन् ।

ओली समूहका नेता केशव वडालले विवाद समाधानका लागि भन्दै प्रचण्डले पेश गरेको अभियोगपत्र पत्र फिर्ता हुनैपर्ने बताउनुभयो ।

तर प्रचण्ड–नेपाल समूहले भने पार्टीको सचिवालयमा रहेका पाँच जना नेताहरुको सहमतिमा अध्यक्षले पेश गरेको प्रतिवेदन फिर्ता हुने विषय नै नरहेको बताएका छन् ।

उनीहरुले प्रतिवेदनबारे पार्टीमा छलफल हुनैपर्ने अडान लिएका छन् । ओली समूहका कतिपय नेताहरुले प्रधानमन्त्री ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकोले उहाँलाई हटाउन नमिल्ने तर्क पनि पेश गरिरहेका छन् ।

तर प्रचण्ड समूहका नेताहरुले त्यसलाई कुतर्कको संज्ञा दिएका छन् । कुतर्क नै गर्ने हो भने पूर्ववत पार्टीमा प्रचण्ड नै पहिले अध्यक्ष रहेको नेता रामप्रसाद सापकोटा दिपशिखाले बताउनुभयो ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गरेपछि चुलिएको सत्तारुढ नेकपाको विवाद झनै उग्र बन्दै गएको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनले नेकपामा ध्रुवीकरण झनै बढेको छ ।

ओली समूहले उक्त प्रस्ताव फिर्ता नलिए कुनै बैठक त के संवाद समेत नहुने चेतावनी दिएको छ । दुवै समूहबीच तिक्तता झनै बढेपछि मंसिर ३ गतेका लागि तोकिएको सचिवालय बैठक अनिश्चित बनेको छ । नेपाली नेटवर्कबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार