नेकपा पार्टी विभाजन हुन सक्ने संकेत प्रधानमन्त्री केपि शर्मा ओलिले दिएका छ्न। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका हुन । आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताए ।
प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर परामर्श गरेका थिए ।
‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई म मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग-अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ,’ दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’
दाहालको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । ती नेताका अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।खुमलटार छलफलमा सहभागी नेताहरुले दाहाललाई ओलीसँग पुन: संवाद गर्न र एक्लै भेट नभए सामूहिक रुपमा छलफल गर्न सुझाव दिएका छन् ।
यसअघि आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको जानकारी दिईसकेका छ्न । ‘ आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछुु’ महासचिव पौडेलको ट्वीटरमा भनेका छन ।केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि सबैसँग आग्रह गरेका हुन् ।
पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यही भेटमा प्रधानमन्त्री ओलीले अलगअलग जाने विकल्प अगाडि सारेपछि नेकपाको राजनीति फेरि संकटको अवस्थामा पुगेको छ।
Discussion about this post