धनगढी : ११ महिनापछि धनगढी–अछाम–धनगढी उडान भएको छ। समिट एयरले आज अछामबाट धनगढी र धनगढीबाट अछाम हवाई सेवा सञ्चालन गरेको हो। समिट एयरका प्रतिनिधि दिपक दुवालका अनुसार अछामबाट धनगढी आउँदा १६ जना र धनगढीबाट अछाम जाँदा ६ जना यात्रु थिए।
यसअघि समिट एयरले गत बर्षको चैत ८ गते साप्ताहिक रुपमा धनगढी–साफेबगर हवाई सेवा सञ्चालन हुने दावी गरेको थियो। तर ८ गते एक दिन मात्रै हवाई सेवा सञ्चालन गरिएकोमा त्यसपछि एक दिन पनि धनगढी–अछाम हवाई सेवा सञ्चालन गरिएको थिएन्। समिट एयरका प्रतिनिधि दुवालका अनुसार अव हप्ताको एक दिन धनगढी–अछाम हवाई सेवा सञ्चालन गरिने छ। धनगढी देखी साँफेबगर सम्मका लागि तीन हजार ६ सय भाडादर कायम गरिएको उनले बताए।
धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले भने अहिले नै साप्ताहिक उडान बारे जानकारी प्राप्त नभएको बताए। धनगढी साँफेबगर नियमित हवाईसेवा सुरु भएपछि अछाम लगायत छिमेकी जिल्ला बाजुराका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ। धनगढी साँफेवगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ।
Discussion about this post