प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवालाई आगामी कार्यकालको लागि कुनै हालतमा पनि सभापति हुन नदिने ठोकुवा गरेका छन् ।
वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि गम्भीर आरोपहरू लगाउँदै देउवाले विगत देखि नै उल्टो कामहरू गर्दै हिंड्नुका साथै प्रजातन्त्र र पार्टीलाई नै खतरामा पुर्याएको समेत आरोप लगाए ।
सभापतिको कार्यशैलीले पार्टी्भित्र सधैं द्वन्द्व मात्रै निम्त्याएको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले समयावधि सकिएपछि विभागीय प्रमुखहरू नियुक्त गरेको भन्दै सभापतिको चर्को आलोचना समेत गर्न भ्याए । विभागीय प्रमुखहरू समय हुँदा चुप बस्ने र म्याद सकिएपछि नियुक्त गर्नुको अर्थ महाधिवेशनलाई प्रभाव पार्ने नियतसाथ आएको समेत उनको जिकिर छ ।
आगामी महाधिवेशन बाट कम्युनिष्टहरुको सामना गर्ने गरि पार्टी पुनस्निर्माण गर्नुपर्ने आवश्यकता भएको र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यो काम सभापति देउवाबाट हुन नसक्ने ठोकुवा समेत गरे । कांग्रेसमा आएको विकृतिले देशलाई प्रभाव पार्नसक्ने भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको विकृति रोक्न आफू इमानदार भएर लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
Discussion about this post