काठमाडौं – नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानपछि पार्टीमा विवाद चर्किएको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको थियो । तर ओलीले डा. युवराज खतिवडालाई नै दोहोर्याउने अडान लिएका छन् ।
नेकपाभित्र विवाद चर्किरहेका बेला पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कि पार्टी छाडेर जान कि निर्णय मान्न चुनौती दिएका छन् ।
यस्तो छ उनीसँग नयाँपत्रिका दैनिकले लिएको अन्तर्वार्ता –
वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ‘ब्याक’ भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ ?
– बाहिर के आयो मलाई केही थाहा छैन । तर म यति भन्छु – पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।
बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमति राख्नुभएको थियो कि थिएन ?
– अहँ, राख्नुभएको थिएन । उहाँले पनि समर्थन गर्नुभएको हो । सर्वसम्मत निर्णय भएको हो ।
गौतमको नाम कसले प्रस्ताव गरेको हो त ?
– हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौं ।
प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ ?
– पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने सदस्यको संख्या थप्ने विषयमा प्रधानमन्त्रीले कुनै प्रस्ताव राख्नुभएको थियो ?
– संविधान संशोधन गरेर नौ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरौं भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको थियो । तर बैठकले अस्वीकार गर्यो । संविधान संशोधनका लागि प्रस्तावित कार्यदल नै निष्क्रिय भइसकेपछि अब त्यो प्रसंगमा छलफल गर्नुको अर्थ रहेन ।
Discussion about this post