अछाम । प्रेस संगठन अछामले स्वर्गीय पत्रकार खकेन्द्र परियारका परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । स्वर्गीय पत्रकार परियारका धर्मपत्नी पुजा परियारलाई आज स्मृति कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । पत्रकार तथा अन्य व्यक्तिबाट संकलिन साढे १४ हजार रुपैँया कार्यक्रमका प्रमुख अतिथि नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपानेले हस्तान्तरण गर्नुभयो ।
प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले स्वर्गीय परियारलाई प्रेस संगठनले गरेको सहयोग महत्वपूर्ण कार्य भएको भन्दै आगामी दिनमा बच्चाको पढाईलेखाईका लागि सहयोग पुग्ने प्रकारको काम गर्न सके राम्रो हुने बताउनु भयो । कार्यक्रममा बिशिष्ठ अतिथि प्रेस संगठन नेपालका केन्द्रीय अनुशाशन आयोगका सदस्य टेकराज भण्डारीले स्वर्गीय पत्रकार परियारप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दै पीडामा परेको अवस्थामा केही सहयोग पुगोस भन्ने उद्देश्यले रकम संकलन गरी प्रदान गरीएको बताउनु भयो ।
तत्कालीन प्रेस चौतारीका सदस्य तथा रेडियो सोसाईटीमा कार्यरत पत्रकार खकेन्द्रको २०७४ साल फागुन १७ गते असामयीक निधन भएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा प्रेस संगठनका प्रदेश सदस्य होम बहादुर साउँद, चन्द्र बहादुर थापा, पूर्व प्रेस चौतारीका सचिव टेकबहादुर थापा, प्रेस युनियनका सचिव शुशील भण्डारी, प्रेस संगठनका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । स्वर्गीय परियारको फोटोमा माल्यार्पण समेत गरिएको कार्यक्रको संचालन प्रेस संगठनका सहसंयोजक कृष्ण बहादुर बुढाले गर्नुभएको थियो ।
Discussion about this post