अछामको पञ्चदेवल बिनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या आशंकामा सातजना पक्राउ परेका छन् । उनीहरु मध्य अधिकांस शिक्षकहरु छन् । अनुसन्धानकालागि नियन्त्रणमा लिइएकाहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शहकारीका लेखापाल पनि छन् । उनीहरुले घटना घट्नु अघिल्लो साँझ सोमबारसँगै बसेर मदिरा सेवन गरेका थिए । दिउसो स्थानीय सरस्वती आधारभुत विद्यालयको लेखापरीक्षण गरेपछि सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित अन्य शिक्षकहरु र बिनायककै एक शहकारीका लेखापालसहितका सातजनाले साँझ सँगै बसेर मदिरा सेवन गरेका हुन् । उनीहरुले सुरुमा वडा कार्यालयमै बसेर मदिरा सेवान गरेपछि बेलुकि सवा सात बजेपछि नजिकै रहेको पदम धामीको होटलमा गएर फेरी खानासँगै मदिरा सेवन गरेका थिए ।
त्यसपछि राती ११ बजेतिर आफुहरु सबै आ–आफ्नो घरतिर लागेको उनीहरुले प्रहरीसँगको बयानमा भनेका छन् । अत्यधिक मदिरा सेवनपछि एक्लै घर फर्किएका वडाध्यक्ष धामी मंगलवार बिहान वडा नम्बर २ कै गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युपछि अन्तिमपटक सँगै रहेका सातजनालाई अनुसन्धानकालागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन् । अहिलेसम्मको प्रारम्भीक अनुसन्धानले घटनामा उनीहरुको संलग्ताबारे कुनैपनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयले समेत घटनामा उनीहरुको संलग्नताको सम्भावना नरहेको बताएका छन् । घटना सम्बन्धमा काठमान्डौंबाट आएको सिआइबी र धनगढीबाट आएको कुकुरसहितको बिशेष टोलीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाको सत्य कुरा चाडै सार्वजनिक हुने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसँगको सोधपुछ बाहेक प्रहरीले मृतक धामीको मोबाइल फोनको कल रेकर्डका आधारमा अनुसन्धान सुरु गर्नुका साथै स्थानीयका घरहरुमा समेत खानतलासी गरीरहेको छ । तालिम प्राप्त कुकुरले मृतक धामी सोमबार हिडेका विभिन्न ठाउँमा सर्च समेत गरेको थियो । प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डामा रहेको सिआइबीको टोलीले भने मोबाइल फोन, भेटिएका कागजात र अन्य प्रमाणका आधारमा अनुसन्धान गरिरहेको छ । यद्यपी अहिलेसम्म कुनै तथ्य हात लाग्न सकेको छैन् ।
मृतकका आफन्तद्धारा हड्ताल
मृतक वडाध्यक्ष पदमबहादुर धामीका आफन्तले भने अनुसन्धानमा ढिलाई गरिएको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । बिनायक बजार बन्द गराएका छन् भने मध्यपहाडी लोकमार्गमा यातायात पनि चल्न दिएका छैनन् ।
मृतकका आफन्तसहित आन्दोलनमा उत्रिएका ६ सय बढी स्थानीयले बिनायकको प्रहरी बिट अगाडी टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले वडाध्यक्षको हत्या नै भएको दाबी गर्दै दोषिलाई पक्राउ नगरेसम्म घटनास्थलबाट शव उठाउने विरुद्ध मुद्वा दिइने भन्दै नाराबाजी गरेपछि मृतकको शव समेत उठाउन नसकिएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । शवको पोष्टमार्टमका लागि बुधवार दिनभर प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक भारती र पञ्चदेवल बिनायक नगरपालिकाका उप(प्रमुख अम्बिका चलाउनेसहितको टोलीले सहमतिको प्रयास गरेपनि स्थानीयले दोषि पक्राउ नपरेसम्म शव उठाउन नदिने अडान लिएपछि कुरा मिल्न नसकेको हो । इलाका प्रहरी कार्यालय बिनायकमा भएको छलफल बिहीवार बिहान ८ बजेसम्मका स्थगित भएको छ ।
आन्दोलिन स्थानीयहरु जनप्रतिनिधिको रहस्यमय मृत्यु हुँदा समेत समयमै अनुसन्धान नथालिएको भन्दै प्रहरीप्रति आक्रोसित छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वा्चित धामीको मृत्युपछि आफन्तसँगै स्थानीय जनप्रतिनिधि र नेताहरु समेत आन्दोलनमा होमिएका छन् । कांग्रेस अछामका सहसचिव वेदप्रकाश तिमिल्सिनाका अनुसार पार्टीका सभापति भरतकुमार स्वार र पुर्व पार्टी सभापति पुस्प बहादुर शाह लगायतका नेताहरुले घटनास्थल पुगेर सत्यतथ्य छानविनको माग गरेका छन् । मृतकका आफन्तको भावनालाई ख्याल गर्दै दोषीलाई पक्राउ नगरेसम्म निरन्तर संघर्ष जारी रहने पनि तिमिल्सिनाले जानकारी दिनुभयो । सोसाइटी संचारबाट
Discussion about this post