ललितपुर, २३ पौष । गाँजा सेवनकर्ताको भेषमा नेपाल प्रहरीका सई धिरेन्द्र थपलिया गाँजा विक्रीवितरण गर्ने समूहसम्म पुगे । शुरुमा शंका गर्दै विक्रेताले विक्री गर्न मानेनन् । तर, अपराध अनुसन्धानकाा अनुभवी थपलियाले उम्कन दिएनन् । ग्राहकको भेषमा ठूलो परिमाणको गाँजा बरामद गरे ।
सोमबारको यो घटना ललितपुरको महालक्ष्मी नगरपालिका लाकुरे भञ्ज्याङ नजिकैको हो । गणेशमान पार्क नजिकैको घरमा गाँजाको विक्रीवितरण हुने गरेको सूचना पाएपछि सई थपलिया साँझ ग्राहकको भेषमा पुगेका थिए । निकै समयको मोलमोलाई पछि उनी ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भए । साँढे चार केजी गाँजा लुकाई राखेको अवस्थामा बरामद भयो । विक्रीवितरणमा संलग्न ६१ वर्षीया महिला पक्राउ परिन् ।
लाकुरे भञ्ज्याङ नजिकै यसअघि पनि ठूलो परिमाणमा गाँजाखेती नष्ट गरिएको थियो । पछिल्लो समय लागूऔषध कारोबारको केन्द्र बन्दै गएकाले त्यहाँ युवाहरु प्रभावित भएको तथ्य बुझेपछि सई थपलियाले महानगरीय प्रहरी परिसर ललितपुर र सातदोबाटो वृत्तसँग समन्वय गरी कारबाही चलाएका थिए । महानगरीय प्रहरी प्रभाव लुभुका इञ्चार्ज भएर आएलगत्तै यो उनको पहिलो ठूलो अपरेशन थियो । जसलाई उनले कुशलतापूर्वक सफल बनाए ।
Discussion about this post