मकवानपुर — प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न नेकपाले पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर नेकपा शीर्ष नेताहरुले पुनः निर्देशन दिएका हुन् ।
प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले नेताहरुले पुनः निर्देशन दिएको बताए। सचिवालयको निर्देशनबाट असन्तुष्ट प्रदेश–३ का सांसदहरुको टोलीले काठमाडौंमा टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलसँग छलफल गरेको थियो।
‘सचिवालयको निर्देशन अनुसार अगाडि बढ्न निर्देशन भएको छ,’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भनाई उध्रित गर्दै मन्त्री जम्मकट्टेलले भने, ‘सुरक्षा निकायको रिपोर्ट र पार्टीभित्र धेरै चरणको छलफलपश्चात् हेटौंडा र बाग्मती छनौट गरिएको सचिवालयलका नेताहरुले भन्नु भएको छ। पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन। हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ। हेटौंडालाई राजधानी मानेर जानुस।’
नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए। हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेपछि शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका थिए। मुख्यमन्त्री डोरमणि पौडेल निवास हेटौंडामा चलिरहेको संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए।
नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौलालगायतको टोली काठमाडौं पुगेको थियो।
नेकपा केन्द्रीय सचिवालले प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि प्रदेश संसदीय दलमा विवाद भएको थियो। विवादका कारण तीन दिनसम्म चलेको दलको बैठक अनिर्णित बनेको थियो।
Discussion about this post