२२ पुस, काठमाडौं । अष्ट्रेलिया यतिबेला भयानक डढेलोले आक्रान्त बनिरहेको छ । डढेलोका कारण त्यहाँ हालसम्म २५ व्यक्तिको ज्यान गएको छ भने ६० करोड जीवजन्तु मारिएका छन् । यतिबेला अष्ट्रेलिया ठूलो शोकमा छ । तर, नेपाल भ्रमण वर्ष–२०२० प्रबद्र्धनको नाममा नेपालले शोकमग्न अष्ट्रेलियामा भद्दा मजाक गर्ने प्रयास गरेको छ । यो बेला अष्ट्रेलियनलाई नेपाल घुम्न आउ भन्दै प्रचार गर्नु भद्दा मजाक नै हो ।
त्यसैले त भ्रमण वर्ष प्रबद्र्धन गर्न अष्ट्रेलियाको सिड्नीमा निकालिएको र्यालीलाई त्यहाँको प्रहरीले रोकिदिएको छ। भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि यतिखेर अष्ट्रेलियामै छन्। नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गरिँदै आज निकालिएको र्यालीको नेतृत्व मन्त्री भट्टराईले नै गरेका, तर सिड्नी प्रहरीले रोकिदिएको त्यहाँ रहेका प्रवासी नेपालीहरुले बताएका छन् ।
सो र्यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र भिक्टोरियाका कन्सुलर चन्द्र योन्जन सहभागी थिए। प्रचारप्रसार र व्यवसायिक लाभका लागि अष्ट्रेलियाको कानुन मिचेर र्याली आयोजना गरिएको तथा त्यसमा सहभागीहरुको संख्या समेत धेरै रहेकाले रोकिएको खबरहरुमा उल्लेख छ। व्यवस्थापनमा आयोजकले ध्यान नदिएकाले र्याली रोकिएको भन्दै सहभागीहरुले आक्रोश समेत पोखेका छन्।
Discussion about this post