काठमाडौं । आज बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा शुरू हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।
सूतक समयः शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले पुष ९ गतेका दिन राती ८ बजेर ४२ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
ग्रहणको समयमा के गर्ने ? ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै श्राद्ध गर्ने, ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ,पोखरी, तिर्थस्थान, खोला, समुन्द्र,पोखरी आदिमा स्नान गर्ने यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु ,साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । यसपटकको खण्डग्रास सूर्यग्रहण मूल नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म मूल नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मूल क्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ
मेष : मानहानी हुने
वृष : कष्ट हुने
मिथुन : स्त्रीपीडा हुने
कर्कट : सुख मिल्ने
सिंह : चिन्ता बढ्ने
कन्या : व्यथा बढ्ने
तुला : श्री प्राप्ति हुने
बृश्चिक : क्षति हुने
धनु : घात हुने
मकर : खर्च बढ्ने
कुम्भ : लाभ हुने
मीन : सुखदायी हुने
Discussion about this post