उपेन्द्र यादव तथा पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेसँगै वर्तमान सरकारले दुई तिहाइको सरकारको हैसियत गुमाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब बहुमतको सरकारमा सीमित भएको छ, यद्यपि यसले सरकारलाई खासै ठूलो फरक भने पर्ने देखिँदैन । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग स्पष्ट बहुमत रहेको छ ।
नेकपासँग १ सय ७४ सांसद् छन् । यस्तै कांग्रेसका ६३, राजपा र समाजवादीका समान १७ तथा नेमकिपा, राप्रपा, राजमो र एक स्वतन्त्र गरी स्वतन्त्र हैसियतका ४ सांसद छन् । नेमकिपा, राप्रपा र राजमो तीनैले राष्ट्रिय दलको मान्यता पाएका छैनन् । यसमध्ये नेकपा, कांग्रेस र राजपाका १र१ सांसद क्रमशस् कृष्णबहादुर महरा, आफ्ताब आलम र रेशम चौधरी जेलमा छन् भने समाजवादी पार्टीका हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् ।
यसअघि प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदा ओलीले ३ चौथाइ सांसदको समर्थन पाएका थिए । ओलीको पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो । त्यतिबेला ओलीलाई समर्थन गरेको राजपाले यसअघि समर्थन फिर्ता लिइसकेको छ । नेकपाकै बागी बनेर चुनाव जितेका छक्कबहादुर लामा र गठबन्धनकै राजमो उम्मेदवार दुर्गा पौडेलको मत जोड्दा पनि सरकारको पक्षमा १७६ मत मात्र पुग्छ । दुई तिहाइका लागि १८४ सांसदको समर्थन चाहिन्छ । अहिलेको अवस्थामा दुई तिहाका लागि कम्तिमा ८ सांसद अपुग भएको देखिएको छ । प्रतिनिधि सभा कुल २७५ सदस्यीय हो ।
Discussion about this post