टेकराज भण्डारी, पौष ७, अछाम । अछाममा मंसिर १० गतेदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन् । कमलबजार नगरपालिका वडा नम्बर ७ जामाकी १६ बर्षिया बासु जैसी २७ दिनपछि कमलबजार नगरपालिका वडा ६ को उराईटी बनमा आईतबार साँझ फेला परेकी हुन् । स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला पारेकी प्रहरीले जनाएको छ ।
मृतक बासुको अनुहारको केही भागको मासु नभएको र अरु शरीर अंगभंग नभएको बताईएको छ । मृतकले लगाएको अलादानी तथा बरियो अलगअलग ठाउँमा भेटिएको र शरीरमा केही काला डाम समेत रहेका बताईएको छ ।
मृतकको जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरी आफन्तलाई शव बुझाईएको अछामका प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारतीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट अनुसार आवश्यक अन्य अनुसन्धान गरीने डिएसपी भारतीले जानकारी दिनुभयो ।
मृतक बासु मंसिर १० गते दिउसो ३ बजे आमाले काटेको घाँस ल्याउन भन्दै उनी करिब डेढ घण्टा टाढा बजेडी चिलिमे वनतिर गएकी थिईन् । आमासंग भेट नभई आमा घर फर्केको तर छोरी नआएपछि सोही दिनदेखि खोजी कार्य थालिएको मृतकका बुवा गंगाराम जैसीले जानकारी दिनुभयो ।
मानसिक अवस्था अलि ठीक नभएकी उनका लागि आफन्तले छिमेकी ढकारी गाउँपालिका तथा मंगलसैन नगरपालिकाका विभिन्न वन क्षेत्रमा समेत खोजी गरेका थिए ।
Discussion about this post