जब युवतीले बलात्कार गर्न खोज्नेको लिङ्ग काटिदिइन् !

69
SHARES
384
VIEWS

युवतीमाथि बलात्कार गर्न खोज्ने क्रममा युवकको लिङ्ग काटिदिएको घटना काठमाडौंको बौद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले लिङ्ग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ । युवायुवतीबीच बिहेको कुरा चलिरहेका बेला युवकले युवतीकै कोठामा बलात्कार प्रयास गरेको युवती पक्षको आरोप छ । अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिङ्ग नै काटिदिएपछि घटना प्रहरीसम्म पुगेको हो ।

लिङ्ग काटिदिएपछि प्रहरीले युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर युवतीका आफन्तले बलात्कारका क्रममा प्रतिरक्षा गर्दा लिङ्ग काटिएकाले युवतीलाई छाड्नुपर्ने माग गरेका छन् । ‘म गाउँमै बस्छु, छोरीलाई पढ्न काठमाडौं पठाएँ तर यस्तो नसोचेको घटना भयो । त्यो केटा को हो ? त्यसले मेरी छोरीको इज्जत लुट्न खोजेछ,’ घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युवतीकी आमाले भनिन्, ‘छोरीले बच्ने उपायले त्यस्तो गरिछिन् । प्रहरीले हाम्रो कुरा सुन्नै मानेन । छोरीलाई न्याय दिलाइदिनुपर्‍यो ।’

समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिङ्ग काटेको भनेर नबुझ्न आग्रह गरेका छन् । ‘विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती नानीले यस्तो गरेकी हुन्,’ उनले भने । प्रहरीले युवकका आफन्तको मात्र एकतर्फी कुरा सुनेको तर पीडित युवतीको कुरै नसुनेको दाबी युवतीका परिवारको छ । ‘बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई भेटेर पीडक युवकविरुद्ध हाम्रो पनि उजुरी लिनोस् भन्यौं तर उहाँले लिन मान्नु भएन,’ उनले भने, ‘पहिला युवकको उजुरी छानबिन भएपछि मात्र तपाईंहरूको उजुरी लिउँला भन्नुभयो, यो कानुनसम्मत भएन ।’

बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरेका छन् । ‘उहाँहरू घटना हुने बित्तिकै आउनुभएन । लिखित जाहेरी ल्याउनुभएको छैन,’ उनले भने, ‘तीन दिनपछि आउनुभएको थियो । मैले सरकारी वकिल कार्यालयसँग समन्वय गरेर एउटै घटनामा दुई वटा जाहेरी लिनु नपर्ने बुझेपछि बयानमा सबै कुरा खुलाउन भनेको हुँ ।’ गत मंसिर २३ गते अपराह्न बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो । घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार