चलचित्र दुई प्रकारले चल्छ । एउटा कथा र अर्को स्टार कलाकार । चलचित्र चल्ने सबैभन्दा ठूलो हतियार भने कथा नै हो । केही कलाकारको नामले पनि चलचित्रको सुरुवाती व्यापारमा फाइदा मिल्छ । नेपालमा थोरै कलाकारको नाममा सुरुवाती व्यापार र केही चलचित्रको सफलता कथा र ब्रान्डमा भर परेको पाइन्छ ।
गत वर्ष नेपाली बजारमा १०० वटा चलचित्र रिलिज भएका थिए । यो वर्ष गत वर्षको अनुपातमा करिब ३० देखि ३५ वटा चलचित्र कम बन्ने पक्का छ । चलचित्र रिलिजको सूची हेर्दा पुसदेखि चैतसम्म धेरै चलचित्र छैनन् । गएका वर्षमा माघे संक्रान्तिमा ३ वटासम्म चलचित्र रिलिज हुन्थे । यो वर्ष माघे संक्रान्तिको बिदामा समेत चलचित्र चलाउन निर्माता उत्साहित छैनन् ।
नेपाली चलचित्र क्षेत्रमा केही कलाकारलाई कुन काम गर्ने भन्ने रोजीछोडी छ भने केही कलाकारलाई कामको अभाव छ ।
राजकुमार बनेका प्रदीप
नायक प्रदीप खड्का नेपाली चलचित्रमा चलेको नाम हो । भलै, प्रदीपका पछिल्ला चलचित्रले हलमा दर्शक खासै तानेका छैनन् । तर, उनलाई चलचित्रमा राख्न चाहने निर्माताको कमी छैन ।
प्रदीप भने हाल चलचित्र ‘प्रेमगीत ३’को छायांकन गरिरहेका छन् । यो चलचित्रमा प्रदीप राजकुमारको भेषमा देखिएका छन् । यो चलचित्रको रिलिज अगाडि उनले कुनै पनि चलचित्रमा काम नगर्ने पक्का छ ।
भ्याइ-नभ्याइ पल
नायक पल शाहको हातमा पनि चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको क्रममा छ । फागुन २३ गते यो चलचित्र रिलिज हुँदैछ । यो चलचित्रमा उनी एउटा सुपरस्टार गायकको भूमिकामा देखिँदैछन् ।
म्यूजिकल लभ स्टोरी चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा उनको जोडीको रुपमा नायिका पूजा शर्माले काम गरेकी छिन् । यो चलचित्रको छायांकन सकिएको केही समय भयो । उनी अभिनित चलचित्र ‘वीर विक्रम २’ रिलिज भइसकेको छ । चलचित्रले निर्माताको लगानी भने बचाउन सकेन ।
पल शाहले अभिनय गरेको अर्को चलचित्र ‘हृदयभरी’को छायांकन सकिएको छ । तर, यो चलचित्रको प्रदर्शन मिति यसअघि भदौको अन्तिम सातालाई तोकिएको थियो । तर, काम नसकिएको भन्दै चलचित्रको प्रदर्शन मिति सारियो । अहिले यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन ।
पल यो चलचित्रमा पोल्टी फार्ममा काम गर्ने एक युवकको भूमिकामा देखिँदैछन् । पल अब नयाँ चलचित्र ‘तिमी हुन्छौ जहाँजहाँ’मा काम गर्दैछन् । दिवाकर भट्टराईको निर्देशनमा बन्ने यो चलचित्रमा पलले नायिका दीपिका प्रसाईँसँग रोमान्स गर्दैछन् । यसरी हेर्दा, पलका ३ वटा चलचित्र लाइनअपमा छन् ।
आराम गरिरहेका अनमोल
नायक अनमोल केसी अभिनित कुनै पनि चलचित्र यो वर्ष रिलिजमा नआउने पक्का छ । गत वर्ष, उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भयो र व्यापारिक रुपमा सफल भयो । अनमोलले यो वर्ष चलचित्र ‘धुपौरे’मा महंगो रकम लिएर काम गर्ने सम्झौता गरे । तर, पछि उनले यो चलचित्र छाडे ।
यसपछि, उनले गत वर्षको हिट चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिज साइन गरेका छन् । ‘ए मेरो हजुर ४’को छायांकन यसै वर्ष सुरु हुनेछ । तर, चलचित्रको रिलिज भने अर्को वर्ष मात्र हुनेछ ।
अनमोलले यो चलचित्रका लागि महंगो रकमसमेत लिएका छन् । झरना थापाले निर्देशन गर्ने यो चलचित्रमा उनको जोडीको रुपमा सुहाना थापाले काम गर्दैछिन् । यो चलचित्रलाई प्रेम कथामा बनाउने तयारी गरिएको छ । अनमोल लभर ब्वाईको भूमिकामा चलचित्रमा देखिँदैछन् ।
Discussion about this post