काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आडमा संसदमा दुईतिहाइ बहुमतको समर्थन पाएका छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको गुन बिर्सिंदै प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्रलाई धोका दिँदै सुटुक्क राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसँग मेलमिलाप गरेका छन् ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधवार दुवै दलका शीर्ष नेताबीच भएको वार्तामा राष्ट्रिय सभाको प्रदेश नम्बर २ अन्तर्गतका सिटको बाँडफाँडमा तालमेल भएको हो । ओली–प्रचण्ड सुटुक्क राजपासँग मिलेपछि उपेन्द्रलाई धोका भएको छ । राष्ट्रिय सभामा प्रदेश नम्बर २ का ८ सिटमध्ये चार सिट २० फागुनबाट खाली हुँदैछन् । सदस्य पदमा आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।
दुवै पार्टीले खाली हुन लागेका ४ मध्ये २–२ सिट लिने सहमति गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुषको सिट लिने भएको छ । सहमतिसँगै दुवैको जीत पक्का भएको छ ।
राष्ट्रिय सभामा तालमेलसँगै दुवै दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति समेत भएको छ । सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेर सार्वजनिक गरेका छन् । उपेन्द्र यादवलाई मिलेर सरकार चलाइरहेको नेकपाले एकाएक राजपासँग तालमेल गरेपछि राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।
Discussion about this post