चुनावको ऋण तिर्न मलेसिया गएका बझाङका कांग्रेस नेता बाकसमा फर्किए

157
SHARES
870
VIEWS

बझाङ । मलेसियालमा निधन भएका नेपाली कांग्रेस बझाङका नेता रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको शुक्रबार अन्तिम दाहसंस्कार गरिएको हो । अन्तिम दाहासंस्कार गर्ने बेला नेपाली कांग्रेस बझाङले रमेशबहादुर बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो ।

आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिएका छन् । छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै वैदेशिक रोजगारीका लागि बोहरा मलेसिया गएका थिए । मलेसियामा रहेका बोहोरा मंसिर १३ गते सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उनको दाहसंस्कार गरिएको हो ।

बोहराको मृत्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कतिपयले बोहराको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताएका छन् । बोहरा गाउँपालिकाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका थिए । चुनावमा बोहरा १०२ मतले पराजित भएका थिए । चुनावमा बोहराको झण्डै ७–८ लाख रुपियाँ खर्च भएको थियो । पैसा खर्च भएपनि बोहरा पराजित भएका थिए ।

निर्वाचनमा प्रतिस्पर्धा गर्न ऋण लिएको पैसाले बोहरा चुर्लुम्म ऋणमा डुबेपछि त्यो ऋण तिर्नकै लागि पैसा कमाउन मलेसिया गएको उनका भाई बसन्त बोहराले बताए । चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेश बोहराले दुई वर्षमा नै तिरेका छन् । रमेश बोहराकी पत्नी अन्जनादेवी बोहराले ऋण तिर्न भन्दै विदेश गएका बेला निधन भएको भन्दै भक्कानिएकी छिन् । ‘पैसा पठाउँछु’, पत्नी अञ्जनादेवीले भनिन्, ‘ऋणको केही चिन्ता नलिनु भन्थे । आफै बाकसमा फर्किए ।’

नेपाली कांग्रेसका नेता रमेश बोहरा छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर मलेसिया गएका थिए । रमेशले आफू चैतमा आउने खबर घरमा पठाएका थिए । तर, उनी बाकसमा आएर परिवारलाई एक्लो बनाएका छन् । रमेश बोहराका दुई छोरी र एक छोरा छन् । जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार