छाउगोठमा ज्यान गुमाएकी पार्वतीका जेठाजु पक्राउ

287
SHARES
1.6k
VIEWS

अछाम । जिल्लाको साफेबगर नगरपालिका–३ शिद्धश्वरमा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र रावतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा उनलाई पक्राउ गरेको हो। पार्वतीले आइतबार राति छाउगोठमा ज्यान गुमाएकी थिइन्।

पार्वतीका पति भारतमा रहेको र घरमा सासू(ससुरासमेत नहुँदा अभिभावकको रूपमा रहेको आधारमा जेठाजुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ। ’पक्राउ गरेर मंगलसैन पठाएका छौँ’ साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले भने ’मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो, वा आफैँ बसेको भन्ने अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो।’

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ। सो दफाअनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो।

छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात् कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ। राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार