काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा पद गुमाउने भएका छन् । आगामी फागुन २० गते डा. खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । पदावधि सकिएसँगै उनी राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनेछन् । फागुनमा डा. खतिवडासहित १८ जना पदमुक्त हुने भएपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी गरिरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये १८ जना सदस्यको पद आगामी फागुन २० गतेदेखि रिक्त हुने भएको छ । गोलाप्रथाबाट दुई वर्षे अवधि पाएका सदस्य पदमुक्त हुँदैछन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभा सदस्यको निर्वाचन सक्नुपर्ने बताए । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उनले बताएका छन् ।
राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था रहेको छ । संविधान अनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मिना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिने भएको छ ।
अर्थमन्त्री समेत रहेका राष्ट्रियसभा सदस्य डा. खतिवडाको स्थानमा रिक्त हुने पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका सदस्य हुन् ।
स्थानीय तह गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता गर्न पाउँछन् । राष्ट्रिय सभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ ।
Discussion about this post