आज उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान, ५२ पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

23
SHARES
125
VIEWS

काठमाडौं, १४ मंसिर । आज प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गरेका छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना बनाइएको छ ।

अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ।

कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन ?

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजिनामा भएको थियो भने विभिन्न स्थानीय तहका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए ।

जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ रहेका छन् ।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७, सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१ र रौतहटको गढिमाई नगरपालिका–२ रहेको छ।

यस्तै, बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाडौँको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६ मा पनि उपनिर्वाचन हुँदैछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ।

उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार