अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा भोली हुन लागेको उप निर्बाचनमा अनुमति नलिएका पत्रकारलाई प्रवेशमा रोक लगाइने भएको छ । रिर्पोटिङ गर्न इच्छुक पत्रकारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रेस पास सहितको अनुमति लिइसकेकाले अन्यलाई प्रवेश गर्न नदिइने भएको हो । रिर्पोटिङका लागि कुनैपनि मिडिया हाउसको परिचयपत्र मात्रले प्रवेष गर्न नमिल्ने भएको छ ।
जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत नबीन कुमार जोसीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी नायव उपरीक्षक जनकबहादुर शाही र पत्रकार महासंघ अछामका प्रतिनिधिहरु सहित आज मंगलसेनमा बसेको समन्वयात्मक बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थीत बनाउनका लागि निर्वाचन हुनु एक दिन अघिसम्म प्रेस पास लिइसकेका पत्रकारहरुलाई मात्र रिर्पोटिङका लागि अनुमति दिइनेबारे निर्णय गरिएको थियो ।
प्रेस पासका लागि केन्द्रले नै कुनै छुटै विधि र प्रक्रिया नबनाएकाले जिल्लामै समन्वयात्मक बैठक राखेर यस्तो निर्णय गरिएको हो । रिर्पोटिङ गर्दा पनि मतदान स्थलभित्र सबै ठाउँमा जान नमिल्ने तर निश्चीत तोकिएको ठाउँबाट फोटो तथा भिडियो खिच्ने व्यवस्था मिलाइने भएको छ ।
त्यस क्रममा घन्टौंसम्म पत्रकारले सो ठाउँमा बस्न नमिल्ने तर समय–समयमा रिर्पोटिङका लागि आवतजावत गर्न मिल्नेगरी व्यवस्था गरिने भएको छ । छलफलमा पत्रकार महासंघ अछामका कार्यवहाक अध्यक्ष खम्म खत्री सहित अन्य पदाधीकारी र जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थीति रहेको थियो ।
Discussion about this post