काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । राजधानीमा भएकाे एक कार्यक्रममा आइतबार पत्रकार सम्मेलन गरी अभियानको समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो ।
नक्शा तयार गरेको विधिबारे जानकारी दिँदै प्राडा नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताउनुभयो । नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको खनालको भनाइ छ । सीमा बचाउ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनुभयो ।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताउनुभएको छ । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको बताउँदै नक्शा सुगौली सन्धीअनुसार नै तयार गरिएको उहाँको भनाइ थियो । नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिनुभयो ।
Discussion about this post