टेक बहादुर थापा । जिल्ला स्वास्थ्य कार्यालय अछामको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको । कात्तिक १ गते शनिबार बाट सुरु भएको समिक्षा कार्यक्रमको आइतबार एक कार्यक्रमका विच समापन गरिएको छ । समिक्षा कार्यक्रममा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती, अवसर र आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा गम्भीर रुपमा छलफल गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झपटराज ढुंगानाले जानकारी दिनुभएको छ । १० वटै पालिकामा रहेका स्वास्थ्य संस्थाहरुको अवस्था, गरेका कामको प्रगति समिक्षा गरिनुका साथै केही योजनाहरु समेत निर्माण गरिएको कार्यालय प्रमुख ढुंगानाले बताउनुभयो । समिक्षा कार्यक्रममा यसभन्दा अघिल्ला वर्षहरुको समिक्षा कार्यक्रममा जनाएका प्रतिबद्धता र गरेका सकारात्मक अभ्यासहरुको पनि समिक्षा गरिएको थियो ।
वार्षिक समिक्षा कार्यक्रममा गत आर्थिक वर्षको वार्षिक समिक्षामा ८५.५ अंक प्राप्त गर्दै पंञ्चदेवल विनायक नगरपालिका प्रथम, ८३ प्रतिशत अंक ल्याउदै रामारोशन गाउँपालिका दोस्रो र ८२.५ अंक ल्याउदै तुर्माखाद गाउँपालिका तेस्रो भएका छन । यी स्वास्थ्य संस्थाहरुले नेपाल सरकारले तोकेका अधिकांश सुचकहरु पुरा गरेको पाईएकाले मुल्याङकनका आधारमा छनौट गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन आफ्नो क्षेत्रबाट अवरात्र खटीनुहुने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै आगामी दिनमा थप राम्रो गर्ने प्रयास गर्न सुझाव दिनुभएको छ । स्वास्थ्य भनेको महत्वपूर्ण क्षेत्र भएकाले यसमा आवश्यक्ता अनुसारको लगानी गर्न आफु तयार रहेको बताउदै नगर प्रमुख बोहराले परिभाषित जिम्मेवारी पुरागर्न समेत आग्रह गर्नुभएको छ ।
समापन कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले जिल्लाको समग्र स्वास्थ्य अवस्थामा सुधार ल्याउने उदेश्यका साथ रातदिन नभनी काम गर्नुहुने स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको छ । आगामी दिनमा आफ्नो पालिकालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिन सुझाव दिनुभएको थियो । हामीले समन्वय र सहकार्यको माध्यमबाट अघि बढे स्वास्थ्य क्षेत्रमा थप राम्रो गर्न सकिने भन्दै अध्यक्ष साउदले समन्वय र सहकार्यले पार्ने सकारात्मक प्रभाव बारे एक वास्तविक कथाबाट प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा बोल्दै अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले स्थानीय सरकार भनेको आफैमा अधिकार प्राप्त निकाय भएकाले यसले धेरै कुराहरु गर्न सक्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा अछाम जिल्लामा सन्तोसजनक काम भएको बताउदै प्रमुखजिल्ला अधिकारी सारुले विकसित देशहरुको उदाहरण दिदै यो क्षेत्रमा हामीपनी राम्रो गर्न सक्ने तर समन्वय र सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो । आगामी दिनमा सरकारले पनि अंकका आधारमा बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्यकर्मीहरुको अथक मेहनतले आज जिल्लाको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव देखिन थालेकाले यसलाई थप राम्रो बनाएर लैजान सुझाव दिनुभएको छ ।
कार्यक्रममा पंञ्चदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाही, जिल्ला समन्वय समिति अछामका सदस्य द्धारीका प्रसाद उपाध्याय, पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष टेक बहादुर थापा लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक दिपेन्द्र जोशीले गर्नुभएको थियो ।














Discussion about this post