टेक बहादुर थापा : भूमि समस्या समाधान आयोग जिल्ला समिति अछामले जिल्लामा आफ्ना गतिविधिलाई तिब्रता दिएको छ । जिल्लामा रहेका भूमिहिन,सकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरुको पहिचान गरि उनीहरुको समस्या समाधानका विषयमा स्थानीय पालिकाहरुमा अन्तरक्रिया कार्यक्रमलाई अगाडी बढाएको हो । स्थानीय पालिकाहरुमा पालिका स्तरिय सहजिकरण समिति गठन गरि भूमीशाखा गठन गर्ने र सोही शाखा मार्फत पालिकामा रहेका सबै भूमिहिन,सकुम्बासी र अव्यवस्थित बसोबासीहरुका समस्या समाधान गरिने आयोगले जनाएको छ । जस अन्र्तगत बुधबार मंगलसेन नगरपालिकामा पालिका स्तरिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति अछामका अध्यक्ष राम बहादुर आउजीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका १४ वटै वडामा वडा स्तरिय सहजिकरण समिति गठन गरि वडाको तथ्याङ्क पालिकालाई बुझाउने गरि गतिविधि अगाडी बढाउने, पालिका भित्र कती सुकुम्बासी छन, कती भूमीहिन छन र कतिजना अव्यवस्थित बसोबासी छन त्यस बारेमा सबै वडाको प्रतिवेदन प्राप्त भएपछी वास्तविक समस्या भएका व्यक्तिलाई छनौट गरि उनीहरुको समस्या समाधान गरिने भूमि समस्या समाधान आयोग अछामले जनाएको छ ।
कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले आ आफ्नो वडामा रहेका र यसको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको पहिचान गरि पालिकालाई वास्तविक तथ्याङ्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले मंगलसेन नगरपालिकामा अहिले पनि यो मापदण्ड भित्र पर्ने केही घरपरिवार रहेको भन्दै यसका लागि पालिकाको तर्फबाट आवश्यक प्रकृया अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो । मंगलसेनका केही वादी समुदायको समस्या मंगलसेन नगरपालिकाले सम्बोधन गरिसकेको भन्दै नगर प्रमुख बोहराले बाकी अरु समुदायको समस्या समाधानका लागि वडा अध्यक्षहरुले पनी सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै भूमि समस्या समाधान आयोग जिल्ला समिति अछामका अध्यक्ष राम बहादुर आउजीले यो हामी सबैको साझा सवाल भएकाले यो कार्यमा सहयोग गरिदिन सबै सरोकारवालालाइ आग्रह गनुभएको छ । आफ्नो गाउँघरमा रहेका यस्ता व्यक्तिहरुको पचिहानगरि भूमि समस्या समाधान आयोगलाई उपलब्ध गराइदिन आग्रह गर्दै स्थानीय सरकारको सहयोग बिना यो कार्यक्रम प्रभावकारी हुन नसक्ने अध्यक्ष आउजीको भनाई छ ।
कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, १४ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य लगायत अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भूमि समस्या समाधान आयोग अछामका सदस्य हेमा शाहीले गर्नुभएको थियो । यस्तै कमलबजार नगरपालिकामा पनि भूमि समस्या समाधान आयोगले यस्तै कार्यक्रम सम्पन्न गरेको छ । भूमी आयोग अछामका अध्यक्ष राम बहादुर आउजीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो भने उप प्रमुख सारदा बिष्ट कुवँर लगायत वडा अध्यक्ष, विषयत शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण नापी कार्यालय अछामका प्रमुख तथा भूमि समस्या समाधान आयोग का सदस्य सचिव विदुर पौडेल र विज्ञ सदस्य विर बहादुर शाहीले गर्नुभएको थियो । भूमि समस्या समाधान आयोगले मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकाको लागी ३५ दिने सुचना जारी गरिएको छ । ३५ दिन भित्र आफ्नो नजिकको वडा कार्यालयमा पुगी भूमिहिन दलीत, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वडा कार्यालय संग समन्वय गरि फारम भर्न अनुरोध समेत गरिएको छ ।
यस्तै विहिबार जिल्लाको रामारोशन गाउँपालिकामा पनि स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।













Discussion about this post