अपाङ्गता भएका व्यक्तिहरु समस्यामा रहेको गुनासो

12
SHARES
68
VIEWS

टेक बहादुर थापा ।अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि बनाइएका ऐन कानुन प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गर्दै विभिन्न किसिमका कानुन निर्माण गरेपनी त्यसको प्रभावकारी ढंगले कार्यन्वयन नहुदा अपाङ्गता भएका व्यक्तिहरु पछाडी परेको बताएका हुन ।

अपाङ्ग उत्थान समुह अछामले मंगलसेनमा आयोजना गरेको समृद्ध नेपालको परिकल्पनामा अपाङ्गता समावेशी विकासको महत्व सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका सरोकारवालाले विद्यमान अवस्थामा रहेका कानुनहरु कार्यन्वयन गर्नुपर्ने र आवश्यक भए थप्नुपर्नेमा जोड दिएका थिए ।

समुहका अध्यक्ष जंग बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुस्प बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै सांसद शाहले अपाङ्गता भएका व्यक्तिहरु अहिले पनि सामाजिक, आर्थिक र राजनितिक हिसाबले पछी परेको बताउनुभयो । राज्यले उनीहरुको लागि विशेष कार्यक्रमहरु ल्याउन नसक्नु र अपाङ्गता भएका व्यक्तिहरु आर्थिक रुपमा सबल नहुदा समस्यामा परेको सांसद शाहको भनाई छ ।

आफु प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको सदस्य भएकाले उक्त समितिमा पनी अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा आवाज उठाउने गरेको जानकारी गराउनुभएको थियो । अछाम जिल्लामा महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै सांसद शाहले आफ्नो तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि जहिले पनि सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

यस्तै कर्णली प्रदेशका पुर्व सांसद सुशील थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई अहिले पनि अपमान गर्ने र अवसरबाट बञ्चित गराउने काम भईरहेको बताउनुभयो । उनीहरु संग पहुच र प्रविधि नहुदा पछाडी परेकाले राज्यले उनीहरुको आवश्यक्ता र अवस्था हेरेर सिपमूलक तालिम दिनुपर्नेमा जोड दिनुभएको छ । राज्य यो मुलकका सबै नागरिकको अभिभावक भएको भन्दै थापाले अपाङ्गता भएका नागरिकहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले उनीहरुका समस्या समाधान गर्न तर्फ कार्यक्रम अघि सार्न सुझाव दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष विन्दु रावल, राष्ट्रिय अपाङ्ग महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउद लगायतले मन्तव्य राख्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यकपर्ने सबै किसीमको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुले पनि अग्रसर हुनुपर्ने र त्यसका लागि आवश्यकपर्ने सहयोग आफ्नो तर्फबाट गर्ने उनीहरुको प्रतिबद्धता थियो । कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट आफुहरुलाई सहयोग नभएको गुनासोे गरेका थिए । हिजो गाविस हुदा अपाङ्गता भएका नागरिकको लागि भन्दै प्रतिशतका आधारमा बजेट आउने गरेपनि अहिले भने सिमित बजेट आउदा अपाङ्गता भएका नागरिकहरु थप समस्यामा परेको गुनासो गरेका थिए । कमलबजार नगरपालिका वडा न १ मुलीका खिन्ते कामीले समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अवस्था निकै दयनीय रहेकाले उनीहरुलाई आर्थिक र सामाजिक रुपमा अघि ल्याउन आवश्यक रहेको बताउनुभयो ।

आज स्थानीय सरकारले यस्ता व्यक्तिहरुको पहिचान गर्नुपर्ने भएपनी त्यो किसिमको काम नभएको खिन्तेको गुनासो थियो । स्थानीय तहका जनप्रतिनिधि आफु र आफ्ना वरिपरिका व्यक्तिहरुलाई मात्रै प्राथमिकता दिने गरेको उहाको गुनासो छ । कार्यक्रमको सहजिकरण अपाङ्गता राष्ट्रिय निर्देशन समितिका विज्ञ सदस्य एवं एबीलिस फाउण्डेसन फिनल्यान्डका राष्ट्रिय संयोजक डाक्टर विरेन्द्र पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा उहाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपाङ्गता भएका नागरिकहरुको क्षेत्रमा भए गरेका काम र अभ्यासको बारेमा जानकारी गराउनुका साथै नेपालको वर्तमान अवस्थाका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा उहाले जिल्लाका विभिन्न पालिका बाट सहभागि अपाङ्गता भएका नागरिक र अन्य सरोकारवालाले सोेधेका प्रश्नको जवाफ समेत दिनुभएको थियो । कार्यक्रमलाई प्राविधिक सहयोग मंगलसेन नगरपालिका, सामाजिक विकास कार्यालय अछाम, सेभद चिल्ड्रेन, वल्र्ड भिजन, आस्था नेपाल, वाक नेपाल र समविकास नेपालले गर्नुभएको थियो ।

जिल्लाका १० वटै पालिकाका उप प्रमुख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, अपाङ्गता भएका व्यक्ति तथा अन्य सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको संचालन अपाङ्ग उत्थान समुह अछामका कार्यक्रम संयोजक शंकर विकले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार