टेक बहादुर थापा । अछाम जिल्लामा ६१ हजार १ सय २७ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन । जिल्लाको कुल २ लाख २८ हजार ८ सय ५२ जनसंख्या मध्य ६१ हजार भन्दा बढी नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड अछामका कार्यालय प्रमुख मनकला न्यौपानेले जानकारी दिनुभएको छ । २०७३ साल पौष ९ गते बाट दर्ता शुभाराम्भ भई सोही वर्षको फागुन १ गते बाट सेवा सुचारु गरेको स्वास्थ्य बीमा बोर्डले जिल्लाका १० वटै पालिकामा यो कार्यक्रमलाई एकैसाथ अगाडी बढाएको थियो ।
स्वास्थ्य बीमा बोर्डले दर्ता सहयोगीको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको कार्यशाला गोष्ठीमा अछाम जिल्लाका ४९ हजार ५ सय ९५ घरधुरी मध्य २० हजार १२ घरपरिवार स्वास्थ्य बीमा कार्यक्रम आवद्ध भएका जानकारी गराईएको थियो । गोष्ठीमा अछाम जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र यसमा आवद्ध भएका बीमीतको संख्याको बारेमा जानकारी गराईएको थियो । अछाम जिल्लाका १० वटा पालिका मध्य सबैभन्दा बढी स्वास्थ्य बीमा गर्ने साफेबगर नगरपालिका र सबैभन्दा कम चौरपाटी गाउँपालिकामा छन ।
साफेबगर नगरपालिकामा ११ हजार ६ सय ५५ जना र चौरपाटी गाउँपालिकामा २ हजार ८ सय ३६ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका सोही अवसरमा जानकारी गराईएको थियो । जस अन्र्तगत मंगलसेन नगरपालिकामा ८ हजार ३ सय ४१ जना, कमलबजार नगरपालिकामा ६ हजार ६ सय ७२, पंञ्चदेवल विनायक नगरपालिकामा ५ हजार ९ सय २०, तुर्माखाद गाउँपालिकामा ८ हजार ६ सय ९७ जना रहेका छन भने ढकारी गाउँपालिकामा ४ हजार ७ सय ८६ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३ हजार ५ सय ३३, रामारोशन गाउँपालिकामा ४ हजार ८ सय ९० र मेल्लेख गाउँपालिकामा ३ हजार ८ सय १ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन ।
अछाम जिल्लाका ९१ वटा वडाका ९२ जना दर्ता सहयोगीहरुलाई थप आवश्यक तालिम दिएर यो कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यका साथ आयोजना गरिएको कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले पनि यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । स्वास्थ्य बीमा बोर्डका सुदुरपश्चिम प्रदेश संयोजक जनक बहादुर साउदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले स्वास्थ्य बीमा हरेक नागरिकको लागि अतिआवश्यक भएकाले यसमा हरेक नागरिकलाई जोड्नुपर्ने बताउनुभयो । २ लाख भन्दा बढी जनसंख्या रहेको अछाम जिल्लामा ६१ हजार नागरिक मात्रै आवद्ध भएको भन्दै उहाले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको संख्या बढाएर लैजानुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मंगलसेन नगरपालिका तयार रहेको बताउनुभयो ।
अछाम जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्ड र दर्ता सहयोगीहरुको मेहनतले अछाम जिल्ला यो प्रदेशकै तेस्रो स्थानमा रहेको भन्दै उहाले आगामी दिनमा थप मेहनत गर्न आग्रह समेत गर्नुभएको थियो । उद्घाटन सत्रमा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, जिल्ला अस्पताल अछामका कार्यालय प्रमुख डाक्टर कमलेश प्रसाद यादव, मंगलसेन स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन स्वास्थ्य बीमा बोर्ड अछामका दर्ता अधिकारी तारा कुमालले गर्नुभएको थियो । जेठ १८ गते बाट सुरु भएको कार्यशाला गोष्ठी २३ गते सम्म संचालन हुने भएको छ । १० वटै पालिकामा रहेका दर्ता सहयोगीहरुलाई तिन समुहमा विभाजन गरि तालिम दिन थालिएको हो । आईतबार र सोमबार मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र चौरपाटी गाउँपालिकाका दर्ता सहयोगीको तालिम सम्पन्न भएको छ भने मंगलबार बाट साफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकामा रहेका दर्ता सहयोगीको तालिम संचालन हुने स्वास्थ्य बीमा बोर्ड अछामका कार्यालय प्रमुख मनकला न्यौपानले जानकारी दिनुभएको छ ।













Discussion about this post