अछाम सहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा माघी पर्वको रौनकता छाएको छ । पर्वमा विवाह गरी गएकी दिदीबहिनी र आफन्तलाई मिठो मसिनो खाने कुरा दिने र भेटघाट गर्ने प्रचलन रही आएको छ ।
माघे सङ्क्रान्तिकाे अवसरमा परम्परागत रूपमा दिदीबहिनीलाई काेसेली माघीका पाेका दिने चलन कायममै रहेकाे मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।
विवाह गरेर गएकी दिदिबहिनी र माइतीघर बिचकाे सम्बन्धलाई नजिक तथा बलियो बनाउन माघे पर्बले मद्दत पुर्याउने गरेको वडा अध्यक्ष भण्डारीकाे बुझाइ रहेको छ ।
प्राय जसो विवाह गरी गएकी दिदीबहिनीहरुले माइतीघरमा आएर चेली तिहार तथा माघी मनाउने गरिएकाे कमलबजार ८ की सुनिता बिष्टले बताएकी छन ।
माइतीघर आउन नसकेकी दिदीबहिनीलाई आज माइतीघरबाट पाेका (हरियाे पात ) लिएर उनीहरूकै घरमा पुर्याेउने गरिन्छ ।
माघे सङ्क्रान्तिकाे अवसरमा सेलरोटी ,तरुल लगायतका अन्य मिठा खानेकुरा दिदीबहिनीहरुकाे घरमै गएर पुर्याेउने चलन कायमै रहेकाे मंगलसेन ७ का पदम जैसी बताउनुभयो । आज मात्र नभइ माघ महिनाभरी यो पर्व मनाउने गरिएको पनि उहाँले ताउनुभयो ।
पुस मसान्तमा सेलरोट पकाएर देवतालाई चढाउने र कागलाई दिने प्रचलन छ। उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन विहानै नुहाएर कागलाई बोलाएर खुवाउने चलन चल्दै आएको छ । धर्मशास्त्रानुसार लोकका अधिपति यमराजले पृथ्वीलोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गरेको पाइन्छ ।
शास्त्रमा आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमरजले कागलाई आफ्नो दूत नियुक्त गरेको धर्मशास्त्रमा उल्लेख छ कागलाई यमराजको सन्देश बहाकका रुपमा समेत पूजा गर्ने हिन्दूधर्मालम्बीको चलन छ।
आजैको दिन कागलाई सम्मानका साथ पूजा गर्न र खानेकुरा दिने चलन रहेको पाइन्छ । कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीको रुपमा लिइन्छ। कागले पुस १५ गते धार्मिक तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको यहाँका स्थानीयवासीमा जनविश्वास रही आएको छ ।
Discussion about this post