परम्परागत सौन्दर्य समेटेर आधुनिकताको बाटोमा अघि बढिरहेको हाम्रो गाउँ

18
VIEWS

– जनक भण्डारी
पत्रकारिता र राजनीतिमा हुँदा थुप्रै स्थानमा पुगेँ, जनप्रतिनिधि भएर धेरै गाउँहरू घुमेँ । पुगेका र देखेका ठाउँहरूका बारेमा लेखेँ पनि । तर, आफ्नै गाउँका बारेमा अहिलेसम्म खासै केही लेखेको छैन । त्यसैले म अहिले मेरो गाउँका बारेमा चर्चा गर्ने प्रयास गर्दै छु ।

तेसिङ्गे गाउँ सुदूरपश्चिमको पहाडी भूभागमा अवस्थित एउटा सुन्दर र रमणीय बस्ती हो । यो गाउँ मंगलसेन नगरपालिका– ६ मा पर्छ । हरिया डाँडाकाँडा, शीतल खोला र उर्वर खेतबारीहरूले सजिएको तेसिङ्गे प्राकृतिक सौन्दर्यले भरिएको गाउँ हो ।

गाउँले जीवनमा शहरी सुविधाहरूको अभाव हुन सक्छ, तर यहाँको सौन्दर्य, आपसी सद्भाव र मौलिक संस्कृतिले सबैलाई मोहित पार्छ । तेसिङ्गे सामाजिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक र परम्परागत पक्षबाट अब्बल छ । गाउँमा मनाइने पर्वहरू, परम्परागत नाचगान र पाहुनाप्रतिको सद्भावना यहाँका विशेषताहरू हुन् ।

तेसिङ्गेको हावा, पानी र वातावरणले यहाँका बासिन्दालाई प्राकृतिक ऊर्जा प्रदान गर्छन् । प्राकृतिक सम्पदासँगै धार्मिकस्थलहरूको महत्त्वले यो गाउँलाई आस्था र श्रद्धाको केन्द्र बनाएको छ । हाम्रो गाउँ सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा अवस्थित छ । यो गाउँ देशको राजधानी काठमाडौंबाट ९५५ किलोमिटर, प्रदेश राजधानी धनगढीबाट ३४३ किलोमिटर र जिल्ला सदरमुकाम मंगलसेनबाट करिब १६ किलोमिटरको दूरीमा छ ।

गाउँको कुल जनसङ्ख्या करिब १,७८५ छ भने यहाँ २८६ परिवारको बसोबास छ । समुद्री सतहबाट १,२०० मिटरदेखि २,४८५ मिटरको उचाइमा रहेको यस गाउँको हावापानी समशीतोष्ण छ । यहाँको तापक्रम न्यूनतम २४ डिग्री सेल्सियसदेखि अधिकतम ३२ डिग्री सेल्सियससम्म रहन्छ ।

हिउँदको मौसममा ठुलासैन बजार क्षेत्रमा तापक्रम शून्यसम्म झर्ने गर्छ र कहिलेकाहीँ हिमपात पनि हुने गरेको छ । यो गाउँ प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी र सांस्कृतिक विविधताले भरिपूर्ण छ, जसले यहाँका बासिन्दाको जीवनशैलीलाई विशेष बनाएको छ ।

मेरो गाउँ पुग्नै लाग्दा ठुलासैनको हरिनगर बजार आउँछ, जुन मध्यपहाडी राजमार्गसँग जोडिएको छ । यहाँबाट गाउँतिर जाँदा घरहरू एकत्रित रूपमा नभएर अलगअलग रुमटा, टोल र बस्तीहरूमा छरिएका छन् । यी घरहरू पातलो किसिमका खेतबारी र प्राकृतिक सुन्दरतासहितका छन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली पुगेको छ, जसले सबै घरहरू उज्यालो बनाएको छ । राति गाउँ झिलीमिली बत्तीको झल्कोले जुनकिरीको झैँ मनमोहक देखिन्छ । गाउँका गाड, खोला, लेक, अवल र उर्वर जमिनले खेतीपातीका लागि उत्कृष्ट वातावरण प्रदान गरेका छन् ।

गाउँको बीचको स्थान भनथानमा माध्यमिक तहसम्मको पढाइ हुने विद्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र र सानो गाउँले बजार छ । यी संरचनाहरूले गाउँलाई सेवा र सुविधाका हिसाबले व्यवस्थित बनाएका छन् ।

हाम्रो गाउँका विविध स्थलहरू ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वले भरिपूर्ण छन् । गाउँको डाँडागाउँमा पहिले आधारभूत विद्यालय थियो, तर अहिले नगरपालिकाले एकीकरण गरी बालविकास केन्द्र सञ्चालनमा ल्याएको छ । परको अग्लो डाँडामा दक्षिण कालिका मन्दिर, चार जिउ चार बाम्नीको अवस्थलो देवस्थल र घिउरे बजे देवताको देवस्थल रहेका छन् ।

गुठिनना टोलको बीचमा बालविकास केन्द्र, कुल मन्दिर र पुरानो राजाको कोट छन् । पुरानो पानी टोलमा कालिका देवीको मन्दिर र ऐतिहासिक पुरानो पानीको नाउलो अवस्थित छ । ठुलासैन बजारमा आधारभूत विद्यालय, सामुदायिक रेडियो, सामुदायिक सिकाइ केन्द्र, खेलमैदान, अस्थायी प्रहरी पोस्ट, डिप बोरिङ खानेपानी प्रणाली, सत्संग भवन, कृषि र बचत सहकारी, शहरी स्वास्थ्य केन्द्र र स्व. हरिप्रसाद भण्डारीको सालिक निर्माणस्थल रहेका छन् ।

हाम्रो गाउँले दिगो विकास र परम्परागत सौन्दर्यलाई समेटेर आधुनिकताको बाटोमा अघि बढिरहेको छ । सबैलाई पायक पर्ने गरी विद्यालय र स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँका सबै घरमा चर्पी निर्माण भइसकेको छ र गाउँ खुला दिसा-पिसाब मुक्त क्षेत्र, छाउगोठ मुक्त क्षेत्र र साक्षर वडा घोषित भइसकेको छ ।

त्यस क्षेत्रमा नाटेश्वरी सेल्फी डाँडामा नाटेश्वरी माताको मन्दिर र सुन्दर खाल छ । माथि भुन्नेको लेक मालिकामा मालिका माताको मन्दिर छ, जसले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्छ ।

सिस्नेडी टोलमा जालपा देवीको मन्दिर, कुलान्य गरुडजडाका मष्टा देवताको देवस्थल र रोटीपानी त्रिवेणी छन् । सिराडी टोलमा पटकानी शान्नि कोट, कुलान्य मन्दिर र पुराना बाईसे-चौबीसे राजाहरूको कोट रहेको छ ।

नवाँगाउँ टोलमा पटकानी शान्नि कोट मन्दिर, विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्र रहेका छन् । यी सबैले हाम्रो गाउँलाई सांस्कृतिक र धार्मिक महत्त्वको केन्द्र बनाएका छन् ।

हाम्रो गाउँले दिगो विकास र परम्परागत सौन्दर्यलाई समेटेर आधुनिकताको बाटोमा अघि बढिरहेको छ । सबैलाई पायक पर्ने गरी विद्यालय र स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँका सबै घरमा चर्पी निर्माण भइसकेको छ र गाउँ खुला दिसा-पिसाब मुक्त क्षेत्र, छाउगोठ मुक्त क्षेत्र र साक्षर वडा घोषित भइसकेको छ ।

गाउँका बस्तीहरू चाउड, उखुसाँडा, बणलला घर, पिप्ला घर, तल्ला घरी, मुल्ला घरी, डाँडाघर, कोट, छडाखेत, मेलडाँडा, लादिभिटा, वयापानी, मलझुल, नौलाघर, फुईमारे, चाना घर, ठेकघर, जिउको थान, भिटा घर, भैसोले, बन्तडा, वुणीमारे, तारेखा, डाँडरान, बौनाली, पानी नाउला, सिस्नेणी रतवड, सल्लाखाल, सोडेनिभिटा, बोक्सडा, चोरपानी रागोमारे गडा, भाणे सल्ला, खर्चेगौडा, गाउँ, फल्टे खोला, भाणेगणा, मोसाणी, गैराघर, लामाधुरी, नारेगैरा, सिल्किडाणा, फुर्केमेल, भनथान, कोल, कुटी, पुराना सिराडी, जुम्लामेल, माजा, पत्थरी घर, सिराडी, मुल्लासैन, मुसुरे काफल, गोगनपानी, धनेपणा, चाउणा, ताकमारीखाल, फुर्के सल्ला र सिराते गणालगायतका नामले चिनिन्छन् । यी नामहरूले गाउँको ऐतिहासिक, सांस्कृतिक र स्थानीय पहिचानलाई झल्काउँछन् ।

गाउँमा एक टोलबाट अर्को टोलमा सजिलै पुग्न मोटर बाटो र रिङरोड निर्माण गरिएको छ । घरघरमै धाराको व्यवस्था नभए पनि खाने पानीको पर्याप्तता छ ।

गाउँका युवाहरूले क्लब गठन गरेर सामुदायिक काममा योगदान पुर्‍याइरहेका छन् । दाजुभाइ र दिदीबहिनीहरूले मिलेर आर्थिक कारोबारका लागि सहकारी पनि खोलेका छन् । साथै, गाउँका प्रत्येक टोलमा टोल विकास संस्था गठन गरिएको छ ।

गाउँमा दुईवटा सामुदायिक वन र सामुदायिक वनभित्र सातवटा कबुलियत वन छन्, जसले पर्यावरण संरक्षण र प्राकृतिक स्रोतहरूको दिगो उपयोगलाई सुनिश्चित गरेको छ ।

यो समृद्ध र आत्मनिर्भर गाउँ संरचना, संस्कार र सम्भावनाहरूले वास्तवमै गर्व गर्न लायक छ ।

गाउँका रुमटा र बस्तीमा कृषि र पशुपालनलाई प्राथमिकता दिँदै समूह र लघुवित्त संस्थाहरू गठन भएका छन् । साथै, स्थानीयस्तरमा निजी फर्म दर्ता गरेर कृषि, पशुपालन र व्यवसायलाई अगाडि बढाउने प्रयास भइरहेको छ । यी सबै कामहरू गाउँको सामाजिक, आर्थिक, धार्मिक, कृषि, पर्यटन, शैक्षिक, स्वास्थ्य र शान्ति सुरक्षाका क्षेत्रमा सुधार ल्याउने लक्ष्यका साथ गरिएका छन् ।

हाम्रो वडाको गड्चन भन्ने ठाउँमा फलामको खानी रहेको छ । तर, यस खानीको अध्ययन र अन्वेषण गर्न कुनै निकायले चासो नदिएकाले यसको पूरा उपयोग हुन सकेको छैन । यदि खानीको उचित अन्वेषण र उत्खनन गरियो भने यसले हाम्रो गाउँ मात्र होइन, नगर, जिल्ला र देशकै आर्थिक समृद्धिमा ठूलो योगदान दिनेछ ।

गाउँको समग्र विकासका लागि सबै पेसाका मानिसहरू चिन्तित र प्रतिबद्ध छन् । गाउँको समृद्धि र सुधारका लागि स्वेच्छाले काम गर्न इच्छुक राजनीतिकर्मी, शिक्षक, स्वास्थ्यकर्मी र समाजसेवीहरू गाउँमा रहेका छन् । तिनीहरूले आर्थिक, भौतिक र सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने योजना अघि सारिरहेका छन् ।

हाम्रो गाउँले ठूलो सम्भावना बोकेको छ । सम्भावनाहरूलाई केलाउने हो भने पर्यटन प्रवर्द्धनको दृष्टिकोणबाट ठुलासैन, सेल्फिडाँडा, नाटेश्वरी मन्दिर, सुन्दर खाल, मालिका, त्रिवेणी रोटीपानी, जालपादेवी स्थान, काग बस्ने थला, कालिका मन्दिर (पुरानो पानी), दक्षिण कालिका सुवाकोट, पटाकानि षोडषा मन्दिर, बाइकोट काग्धुरा क्षेत्रजस्ता स्थानहरू महत्त्वपूर्ण छन् ।

कृषि र खेतीपातीका लागि धवलपुरी, अवल, उनिखेत, सिराणा, झाजुरा जारिमे, सेउणेखेत, पल्लारवा, गाउँखेत, टुणाखेत, सिराडी, खालगा, मुल्लासैन रतवड, भैसिपकेट, आलुपकेट आदि सम्भावना बोकेका क्षेत्र हुन् । धान, गहुँ, कालिज पालन, कुखुरा पालन, बाख्रा पालन, उन्नत गाई पालन, माछा पालन, मौरी पालन, तेलहन र दलहन खेती, फलफूल पकेट क्षेत्र निर्धारण र कार्यान्वयन गर्न सकिन्छ ।

अति सुन्दर ठाउँ छन्, सुन्दरताका लागि हाम्रो गाउँ पर्खी बसेको छ । सँगैका अरु गाउँले पाएको शृङ्गारपटार देख्दा हाम्रो गाउँको मन भक्कानिएको छ । भक्कानिएको मनलाई हौसला दिँदै सुखी र खुसी बनाउनु हामी सबैको दायित्व हो ।

वन, वातावरण र जडीबुटी पकेट क्षेत्र निर्धारण गरी यसको संरक्षण र उत्पादनमा ध्यान दिन सकिन्छ । ठुलासैन क्षेत्रमा बस्ती विकाससँगै साना शहर निर्माण गर्न सकिन्छ । गणचन फलाम खानीको उत्खनन र बजारीकरण सम्भावना छ । लेकाली र अवलमा ओईल्ने बाली तथा फलफूल, तेलहन, दलहन, मसाला बाली र खाद्यान्न उत्पादन गर्न सकिन्छ ।

कृषि पर्यटन, धार्मिक पर्यटन र पूर्वाधार विकास

ठुलासैन, बाइकोट, मालिका, गणिको डाँडा, सिमसली, सुवाकोट आदि स्थानहरूमा प्याराग्लाइडिङ र पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । देवस्थलमा धार्मिक पर्यटन विकास गर्न सकिन्छ ।
रिङरोड स्तरवृद्धि र कालोपत्रे, शाखा सडकको ग्राभेलिङ आवश्यक छ ।

शिक्षा र स्वास्थ्य

बालविकासका कार्यक्रम, विद्यालयको समयानुकूल शैक्षिक सुधार, व्यावसायिक शिक्षाको व्यवस्था, सुविधासम्पन्न स्वास्थ्य संस्था निर्माण र सञ्चालन गर्नु आवश्यक छ ।

समाज सुधार र स्वरोजगार

स्थानीय उत्पादनमा जोड, शान्ति सुरक्षा, अमनचयन र आदर्श समाज निर्माणका लागि काम गर्नुपर्छ । शैक्षिक जनशक्ति उत्पादन गर्दै सबैखाले विभेदको अन्त्य गरी सामाजिक रूपान्तरणको खाका अघि बढाउनुपर्छ ।

लैङ्गिक उत्तरदायित्व, समावेशिता, स्वरोजगार र साना कृषि उद्योग सञ्चालनमा ध्यान दिनुपर्छ । ‘एक टोल, एक उत्पादन’ अवधारणा लागू गरी ‘आफ्नो गाउँ, आफ्नो लगानी’ अभियानमा सबैलाई सहभागी गराउनुपर्छ ।

बालबालिकालाई सकारात्मक ज्ञान, बुढा आमाबालाई सम्मान, युवाको जोस र अभिभावकको अनुभव लिएर गाउँ बनाउने ध्येय र उद्देश्यका साथ ‘कुरा होइन, काम’ गरेर लाग्ने हो भने सुन्दर गाउँ निर्माण सम्भव छ ।

अति सुन्दर ठाउँ छन्, सुन्दरताका लागि हाम्रो गाउँ पर्खी बसेको छ । सँगैका अरु गाउँले पाएको शृङ्गारपटार देख्दा हाम्रो गाउँको मन भक्कानिएको छ । भक्कानिएको मनलाई हौसला दिँदै सुखी र खुसी बनाउनु हामी सबैको दायित्व हो ।

हाम्रो गाउँमा आफ्नै धर्म संस्कृतिअनुसार आफ्नो रीतिरिवाज सबैले मनाउने गरिन्छ । गाउँमा विशु, साउने संक्रान्ति, वल्गे त्यार, एकादशी, मालिके चौदशी, घासेमेला, पित्रे औँसी रोटे त्यार, कृष्ण अष्टमी, पुस पन्ध्रौँ, माघी त्यार (च्याल त्यार), विजया दशमी, चैते दशै, होली, उत्राइनी आदि चाडपर्वहरू हर्ष उल्लासका साथ सबैले मनाउँछन् ।

मेरो गाउँमा बाजा भने दमाहा, ढोल, मादल, नरसिङ्गा, झ्याली, सहनाई, मादल (दाहिनो, बाउ, ट्याम्को), मुरली आदि चलेका छन् ।

हाम्रो गाउँका घर माटो, ढुंगा, काठ, पत्थर र जस्ता पाता राखेर बनाइएका छन् । यहाँका घरहरू रातो माटो र सेतो कमेरो (चुन) ले पोतिन्छन् । गाउँमा धेरै रमणीय ठाउँ रुम्टा, साना बस्ती, बस्तीका नाम, डाँडाकाँडा रोला खोला र ऐतिहासिक स्थल पनि छन् । यहाँ लोप हुन लागेका कोल, जाँतो (जुतारो) र घट्ट पनि देख्न पाइन्छ ।

हाम्रो गाउँ प्रकृतिले अनुपम छ । चिसो मौसममा त्यति धेरै चिसो र तातो मौसममा त्यति धेरै गर्मी नहुने, ठिक्क मौसम हुन्छ । ठुलासैनबाट अपि, साइपाल र भारतको पञ्चचुली चाँदीजस्तै टल्किने हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । ठुलासैनबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका माल, मलबार (तराई) देखि हिमाल र पहाडका अधिकांश भूगोल देख्न सकिन्छ । यो स्थानले भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम दृश्य प्रस्तुत गर्छ ।

हाम्रो गाउँ सानादेखि ठूला जंगलको धनी छ, जहाँ विभिन्न वन्यजन्तु र चराचुरुङ्गी देख्न पाइन्छ । चिन्ने जंगल, मालिका, पेठे, पालेवनजस्ता ठाउँहरूका साथै जनालिखोला, कालाखोला, बोक्सडा खोला, बौनाली खोला, जिल्लाने खोला, छडे खोला, लफे खोला, बुढाखोला, खोलिपुणे खोला, झाजुरा खोला, खेत खोला, कुटी खोला, कैलेखा खोला, पितर खोला रतवड खोला, बडबसे खोला, धौनाखोला र पल्ला रवा खोला गाउँको सुन्दरता बढाउँछन् ।

गाउँका साथीहरू ती खोलानजिकै गाईवस्तु चराउने, जनालिगाड र झाजुरा खोलामा माछा मार्ने र पौडी खेल्ने गर्थे । गाउँनजिकै रहेको स्कुलको सानो मैदान/चौरमा हामी खेल्थ्यौँ । दसैँको बेलामा मलगायत मेरा साथीहरूको बास त्यही चौरमा हुन्थ्यो ।

सदरमुकामसँग जोडिएको मेरो गाउँलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने प्रश्नले मेरो मनमा सधैँ हलचल मच्चाइरहन्छ । यसका लागि मैले मेरो तर्फबाट प्रयास गरिरहनेछु । तपाईं हामी सबैले एक भएर आफ्नो जन्मभूमिलाई, मातृभूमिलाई प्राण समान माया गरेर उत्तिकै समर्पणका साथ हाम्रो ठाउँको निर्माणमा जुट्नुपर्छ ।

हामी कहिलेकाहीँ उनीखेत, धवलपुरी, पडारान, भुलारान, पानिमुल, जारिमे, सालिमेला, भैसोले, बागेसल्ला, काफलेगैरा, मानाबरा, चुच्ची हाल्ने गडासहित गणिकाडाँडा, भेरोलाग्ने, मय, कागधुरा, शुवाकोट, सुईपानी, ऐँसेलु गैरा, खोपाकापानी, टिमिले गैरा, भड्डुलोटे, कोट, भाटारान, लुगाबन, लामासाल, गड्चन, ढुगेका थला, छिजा, सुन्दरखाल रोटीपानी, कागबस्ने थला, मयका खोला, तारेखा, ठुलामुला, पापणे, कुणुने, गैरी खोली, बाइकोट, बास हुने खोला, दिप्पाका डाँडा, भन्थानका गैरालगायतका ठाउँमा गाई, गोरु, भैँसी, बाख्रा चराउँदै घाँस काट्न जान्थ्यौँ ।

साथीहरूसँग रमाइलो गरेर बिताएका ती पलहरू जीवनभर स्मरणीय छन् ।

गाउँमा धेरैजसो मानिस शिक्षित छन् । यहाँका मानिसहरू मुख्य रूपमा खेतीपाती, किसानी र अन्य परम्परागत कामहरूमा संलग्न छन् । आफ्नै बारीमा फलाएको तरकारी र फलफूल तथा भैँसीको दूध उत्पादन यहाँका मुख्य आयस्रोत हुन् । तर, आफैँले उत्पादन गरेको अन्नले गाउँका मानिसहरूको आवश्यकता पूरा गर्न भने पर्याप्त हुँदैन ।

गाउँमा गरिने खेतीपाती र पशुपालनबाट वर्षभरि जीविकोपार्जन गर्न कठिन भएपछि यहाँका दाजुभाइ-दिदीबहिनीहरू रोजगारीका लागि छिमेकी मुलुक भारतका विभिन्न गाउँ र शहरमा काम गर्न जान्छन् । केहीले तेस्रो मुलुकतिर पनि आफ्नो भविष्य खोजिरहेका छन् । यस्तै, कति दाजुभाइ तराईतिर बसाइँसराइ गरी स्थायी रूपमा गइसकेका छन् ।

गाउँमा अधिकांश मानिस दिनरात परिश्रम गरेर गाईवस्तु पाल्छन् । आफ्नो आवश्यकता पूरा गर्न दूध, मासु र अण्डा आफैँ उत्पादन गर्छन् । मानिस स्वावलम्बी बन्नुपर्छ; अरूको भरपर्नु हुँदैन ।

मेरो विचारमा ‘हाम्रो गाउँ राम्रो गाउँ, आफैँले बनाऊँ’ भन्ने सोचका साथ सबैले हातेमालो गरेमा हाम्रो गाउँ उदाहरणीय गाउँ बन्न सक्छ । यसका लागि हामी सबैले समर्पित भई काम गर्नुपर्छ ।

अरू कोही कसैले केही गरिदिने छैन भन्ने सत्यलाई आत्मसात् गर्दै म आफू पनि गाउँमै बसोबास गर्छु । मलाई मेरो गाउँ असाध्यै प्यारो लाग्छ; यो स्वर्गतुल्य लाग्छ । जहाँ गए पनि, चाहे कामको सिलसिलामा होस् वा यात्रामा, अरू ठाउँमा देखिएका राम्रा कामहरू आफ्नो गाउँमा पनि देख्न र निर्माण गर्न मनमा धोको रहन्छ ।

सदरमुकामसँग जोडिएको मेरो गाउँलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने प्रश्नले मेरो मनमा सधैँ हलचल मच्चाइरहन्छ । यसका लागि मैले मेरो तर्फबाट प्रयास गरिरहनेछु । तपाईं हामी सबैले एक भएर आफ्नो जन्मभूमिलाई, मातृभूमिलाई प्राण समान माया गरेर उत्तिकै समर्पणका साथ हाम्रो ठाउँको निर्माणमा जुट्नुपर्छ ।

मेरो गाउँ, मेरो स्वर्ग हो । यसलाई मैले आफ्नो मन र मस्तिष्कमा सधैँका लागि सजाएर राखेको छु । अब हाम्रो दायित्व हो, यसलाई अझ सुन्दर र उदाहरणीय बनाउन सबै मिलेर लाग्नु ।

नोट : नेपाल पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष भण्डारी मंगलसेन- ६ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी हाल नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार