काठमाण्डौ – आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक जना सदस्य पाउनेछन् । चुनावमा सत्ता गठबन्धनबीच सहमति भएकाले गठबन्धनकै उम्मेद्वारले जित्ने पक्का जस्तै छ ।
राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि मङ्गलवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुने भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।
राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव हुने व्यवस्था छ । चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू पाँच सय ३२ जना , गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकेको जनाएको छ ।
Discussion about this post