अछाम सदरमुकाम मंगलसेनसंगै जाेडिएकाे वनमा आगलागी भएको छ । सदरमुकाम मंगलसेन क्षेत्र जाेडिएकाे पालेवन सामुदायिक वनमा आगलागी भएको हाे ।
वनमा भएको आगलागी नेपाली सेना तथा प्रहरीले नियन्त्रणमा लिएकाे छ । दुर्गाबक्स गणका नेपाली सेनाका जवानहरुले नियन्त्रणमा लिएका हुन् । सामुदायिक वनकाे विभिन्न क्षेत्रमा लागेकाे आगाे उनीहरुले नियन्त्रणमा लिएका हुन् ।
सदरमुकाम नजिकै रहेकाे थाप्ले सामुदायिक वन, धुम्रलाेचनी सामुदायिक वन, चिण्डे सामुदायिक वन, मालिका तथा भण्डारी सामुदायिक वन, तिमिल्सैन सामुदायिक वन लगायत दर्जनाैँ वनमा आगलागी भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ३ र ४ मा रहेकाे थाप्ले सामुदायिक वन करिब ३० बर्षपछि आगलागीबाट पूर्ण रुपमा जलेकाे छ ।
वनकाे कुनै क्षेत्रमा आगलागी भए पनि निभाउने गरेकाे र पूर्ण रुपमा वनमा आगलागी नभएको बताउँदै सामुदायिक वनका अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराले याे बर्ष आगाे नियन्त्रण गर्न नसकिएको बताउनु भयाे । आगलागी हुँदा आफू नगरपालिकाकाकाे कामले सदरमुकाम बाहिर रहेकाे र अन्य उपभोक्ताले प्रयास गरेपनि नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनु भयाे ।
आफू वनकाे अध्यक्ष भएको ३७ बर्ष भएको भन्दै उहाँले याे अवधिमा वनमा पूर्ण रुपमा आगलागी नभएको दाबी गर्नुभयाे । पछिल्लो समय अछाम जिल्लाका अधिकांश वनमा आगलागी भएको छ । जिल्लाका विभिन्न राष्ट्रिय, सामुदायिक, निजी, कबुलियती लगायतका वनमा आगलागी भएको हाे । कतिपय वनमा दुईपटक सम्म आगलागी भएको पाईएकाे छ ।
जिल्लामा रहेका ४ सय ६ सामुदायिक वनमध्ये अधिकांशमा वन आगलागी भएको डिभिजन वन कार्यालयका रेञ्जर तथा सुचना अधिकारी बिमल चन्दले जानकारी दिनुभयाे । सामुदायिक वनमध्ये ६० प्रतिशत बढी वनमा आगलागी भएको उहाँले बताउनु भयाे ।
जिल्लामा हाल करिब ४२ हजार हेक्टर वन क्षेत्र रहेकाे छ । अधिकांश वनमा आगलागी हुँदा वातावरण निकै प्रदुषित भएको छ । धुँवाले वायुमण्डल छपक्क छाेपेकाे छ भने धुँवा धुलाेकाे कारण चिसाे समेत बढेको छ ।
वन ऐन अनुसार बनमा आगो लगाउनेलाई नोक्सान भएको काठपातको बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
गर्मीयाम बढेसंगै भैरहेका आगलागी नियन्त्रणका लागि सरोकारवाला जुट्नुपर्ने देखिन्छ । बन डढेलोका कारण जिल्लामा बर्षेनी लाखौँका वन पैदावर तथा जडिबुटी नष्ट हुने गरेको पाईएको छ ।
Discussion about this post